तान्जानियामा निर्वाचनपछि हिंसा : सयौंको मृत्यु, कर्फ्यू र इन्टरनेट प्रतिबन्ध

तान्जानियाका दंगा प्रहरीहरू राष्ट्रपति सामिया सुलुहु हसनको तोडफोड गरिएको निर्वाचन अभियान पोस्टरको छेउबाट हिँड्दै। फोटोः रोटर्स

एचकेनेपाल डट कम –
काठमाडौं, १ नोभेम्बर २०२५ – तान्जानियामा बुधबारदेखि सुरु भएको निर्वाचनपछिको हिंसाले देशलाई अराजकतामा धकेलेको छ। मुख्य विपक्षी दल चाडेमाका अनुसार तीन दिनमै करिब ७०० जनाको ज्यान गएको छ। दार एस सलाममा मात्र ३५० र म्वान्जामा २०० भन्दा बढी मारिएका छन्।

विपक्षी चाडेमा र अर्को दललाई निर्वाचनमा भाग लिन रोकेपछि सहर–सहरमा ठूलो प्रदर्शन भइरहेको छ। सत्तारुढ सीसीएमकी राष्ट्रपति सामिया सुलुहु हसनले ९६.९९ प्रतिशत मत प्राप्त गरेकी छन्।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास, रबरको गोली र लाठीचार्ज गरेको छ। हिंसा नियन्त्रण गर्न सरकारले रातको कर्फ्यू लगाएको छ भने इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा चिन्ता व्यक्त भएको छ। संयुक्त राष्ट्रसंघले कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि गरेको छ भने एम्नेस्टी इन्टरनेशनलले १०० भन्दा बढी मारिएको जनाएको छ। बेलायत, क्यानडा र नर्वेले संयुक्त वक्तव्य जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न आग्रह गरेका छन्।

विपक्षी चाडेमाले निर्वाचन सुधार र संक्रमणकालीन सरकार गठनको माग गरेको छ। स्थिति अझै तनावपूर्ण छ र मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
(एजेन्सीहरुको सहयोगमा)





Comments

comments

133954