बिडिए कोलोराडो च्याप्टरको प्रथम अधिवेशन तथा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। बिडिए कोलोराडो च्यापटरको प्रथम अधिवेशन तथा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

-

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शनिवार एक समारोहबीच संस्थाको प्रथम अधिवेशन तथा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। च्याप्टरको हालै सम्पन्न भेलाले नवराज मरासिनीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो। सोही समितिलाई कार्यभार हस्तान्तरण गरिएको हो।

बिडिए कोलोराडो च्याप्टर अध्यक्ष डा. शारदा काफ्ले त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सुरुमा बिडिए कार्यकारी केन्द्रीय उपाध्यक्ष टिका पौडेलले स्वागत मन्तव्य दिएका थिए। स्वागत मन्तव्यको क्रममा उनले सन् २०१४ मा कोलोराडोमा पहिलो पटक राजु सिटौला र शैलेश पोखरेलले बिडिएको सदस्यता लिएको स्मरण गराएका थिए।

च्याप्टर अध्यक्ष तथा कार्यक्रमका सभापति डा. शारदा काफ्ले त्रिपाठीले रक्तदानको महत्व र आफ्नो कार्यकालको अनुभव बताउँदै रक्तदानले व्यक्तिगत स्वास्थ्यमा पनि धेरै लाभ पुर्‍याउने अनुसन्धानले देखाएको खुलाएकी थिइन्।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष टिका पौडेलले कोलोराडो च्याप्टरको भेलाले सर्वसम्मत तरिकाबाट चयन गरिएको ७ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेका थिए। जसमा अध्यक्ष नवराज मरासिनी, उपाध्यक्ष शर्मिला शर्मा, सचिव नुरहरि पोखरेल, कोषाध्यक्ष विष्णु घिमिरे, बोर्ड अफ डिरेक्टर चिरञ्जीवी लम्साल, विकास भण्डारी, डा. शारदा काफ्ले त्रिपाठी रहेका छन्।

निर्वाचित पदाधिकारीहरूलाई बिडिएका निवर्तमान केन्द्रीय अध्यक्ष तथा वर्तमान केन्द्रीय प्रमुख सल्लाहकार भूषणलाल श्रेष्ठले शपथ ग्रहण गराएका थिए। नयाँ कार्यसमितिको शपथ ग्रहणपछि उनीहरूलाई खादा र संस्थाको पिन लगाइदिई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थालाई विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने महानुभावहरू तथा आजीवन सदस्यहरूलाई मायाको चिनो, सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो।

समारोहमा उपस्थित संघसंस्थाका प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त दिएका थिए। यसरी शुभकामना दिनेहरूमा अनेसास केन्द्रीय महासचिव राजु सिटौला, नेपाली घरका अध्यक्ष वसन्त लम्साल, अनेसास च्याप्टर अध्यक्ष किरण अधिकारी, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगाले, दिदीबहिनी समूहकी निवर्तमान अध्यक्ष धन पौडेल, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष हरि गुरुङलगायत रहेका थिए।

कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्ष नवराज मरासिनीले समारोहलाई सम्बोधन गर्दै रक्तदानको महत्व र यसका फाइदा बारे बुँदागत रूपमा प्रकाश पारेका थिए। जसअनुसार एक जनाले दिएको रगतले तीन जनाको जीवन बचाउन सकिने, एक पटकको रक्तदानले ६९० क्यालोरी जल्नुका साथै कोलेस्ट्रोल घटाउने र स्वास्थ्य परीक्षणका रूपमा रोग पहिचान गर्न मद्दत गर्ने जस्ता रहेका छन्। उनले आगामी दिनहरूमा सबैसँग हातेमालो गर्दै रक्तदान गर्न प्रेरित गर्ने र रक्तदान जीवनदानको मूल नारालाई सार्थक बनाउन सधैं अग्रसर रहने बताएका थिए। कार्यक्रम केन्द्रीय कोषाध्यक्ष फणीन्द्र क्षेत्रीले सञ्चालन गरेका थिए।

सन् २००९ मा स्थापित यस संस्थाको पहलमा हालसम्म १२ हजार ५०० पिन्टभन्दा धेरै रगत संकलन गरी मानवीय कार्यहरू निरन्तर भइरहेको छ। यसको साथसाथै अमेरिकाको विभिन्न स्टेटहरूमा च्याप्टर विस्तार गर्दै यस अभियानलाई तीव्रता दिइएको छ।





Comments

comments

134101