नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर आयोजित कविता वाचन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ।
वरिष्ठ पत्रकार हरिहर विरहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १० वर्षीय बालक आरभ प्रसाईद्वारा लिखित उपन्यास विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो।
अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरद्वारा आयोजित कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा पुष्पमाला अर्पण गर्दै कार्यक्रम अगाडि बढाइएको थियो। कार्यक्रममा च्याप्टरका सचिव परिवेश शर्माले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित अतिथि, साहित्यकार सबैलाई स्वागत गरेका थिए।
कार्यक्रममा उपस्थित बालबालिकाहरूले महाकवि देवकोटाप्रति आफ्नो सृजना वाचन सहित श्रद्धासुमन अर्पण गरेका थिए। यसै क्रममा बालबालिकाहरूले महाकवि देवकोटाको जीवनी, उनका साहित्यिक रचना र त्यसले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानबारे प्रस्तुति गरेका थिए।
च्याप्टर अध्यक्ष किरण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको आकर्षण दशवर्षीय बालक आरभ प्रसाईद्वारा लेखिएको अङ्ग्रेजी उपन्यासको विमोचन रहेको थियो। पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि विरही, साहित्यकार तथा समाजसेवी डा. विजयराज शर्मा, अनेसास केन्द्रीय महासचिव राजु सिटौला, च्याप्टर अध्यक्ष किरण अधिकारी, लेखक आरभ प्रसाई र उनका हजुरबुबा डा. खगेन्द्र दाहालले संयुक्त रूपमा गरेका थिए।
साहित्यकार डा. विजयराज शर्माले देवकोटाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै विमोचित पुस्तकको समीक्षा गरेका थिए। उनले किताब पढ्न र समीक्षा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै पाँच कक्षामा अध्ययनरत दशवर्षीय बालकले काल्पनिक पात्रहरू सृजना गरी यति गहिरो कथा लेख्नु एक असाधारण प्रतिभा भएको भन्दै लेखकलाई बधाई सहित भविष्यमा अझ राम्रा सृजनाहरूको लागि शुभकामना दिएका थिए।
यसैगरी कार्यक्रममा लेखक आरभले अनेसास कोलोराडो च्याप्टरलाई धन्यवाद दिँदै आफ्नो किताबबारे बताएका थिए। उनका हजुरबुबा डा. खगेन्द्र दाहाल, आरभकी साथी आरध्या ओली, आरभकी आमा सुस्रुता दाहाल प्रसाईले पुस्तकबारे आफ्ना विचार व्यक्त गर्दै आरभको सृजना र प्रयासप्रति गर्व सहित खुसी व्यक्त गरेका थिए।
कार्यक्रममा मिलन कोइरालाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व एवं उहाँका कृति बारेमा विस्तृत जानकारी दिएका थिए। यसैगरी कार्यक्रममा उपस्थित कवि, कवयित्री तथा साहित्यप्रेमीहरूबाट देवकोटा र मातृभूमिको वर्तमान स्थिति विषयवस्तुलाई आधार बनाई रचना गरिएको कविता वाचन गरेका थिए। यसरी कविता वाचन गर्नेहरूमा सरोज भुसाल, कृष्णमुरारी ढुङ्गेल, राजु सिटौला, विजयदेव अधिकारी, विकास त्रिपाठी, हरिराज शर्मा अर्याल, पार्वती शर्मा, खगेन्द्र दाहाल, भगवती दाहाल, भूपेन्द्र महत लगायतका रहेका थिए।
कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरहीले प्रवासमा रहेको बेलामा पनि लक्ष्मी जयन्ती जस्तो पवित्र कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै देवकोटाको जीवनी र कृतिहरूलाई राष्ट्र, राष्ट्रियता, मानवताको प्रतीकको रूपमा व्याख्या गरे। उनले देवकोटाको विचार केवल कविताहरूमा सीमित नभई आज पनि राष्ट्रिय जागरण मन्त्र बनेर गुञ्जिरहेको बताएका थिए। अमेरिकाको एउटा स्टेटमा मात्र पनि यति धेरै राष्ट्रप्रेमी रहेका छन् भने विश्वभरि कति होलान भन्दै, आज मातृभूमि घाइते अवस्थामा छ यो पीडा महसुस गर्न सबैलाई सुझाव दिए। त्यसैगरी उनले आरभलाई पनि शुभकामना दिएका थिए। कार्यक्रममा पूर्व सञ्चारकर्मी तथा समाजसेवी राजेन्द्र शर्माले लक्ष्मी जयन्ती तथा लेखक आरभका बारेमा आफ्ना भनाइहरू राखेका थिए।
धन पौडेलद्वारा सञ्चालित कार्यक्रमको अन्तमा सभापति किरण अधिकारीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, सङ्घ संस्थाका पदाधिकारी, सहभागी बालबालिका र कवि, कवयित्री, साहित्यकारहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यसरी साथ र सहयोग पाए अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


