न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १४ नोभेम्बर । हङकङस्थित नेपाली महावाणिज्यदूतावासको निरन्तर कूटनीतिक प्रयास र अनुरोधका कारण हङकङ सरकारले नेपाली राहदानीधारी यात्रुहरूलाई ठूलो राहत दिने निर्णय गरेको छ।
सन् २०२५ नोभेम्बर १५ (भोलिदेखि) लागू हुने गरी हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक वा अन्य मुलुकबाट नेपाल यात्रा गर्ने नेपालीहरूलाई ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरिएको हो।
सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट गर्ने नेपाली यात्रुहरूलाई अनिवार्य ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू भएको थियो। विश्वकै व्यस्त विमानस्थलमध्ये एक हङकङ विमानस्थलमा यो प्रावधानका कारण नेपाली नागरिकहरूले लामो समयदेखि असुविधा भोग्दै आएका थिए।
हङकङ सरकारले ट्रान्जिट भिसाको बाध्यकारी प्रावधान हटाएपछि नेपाली यात्रुहरूलाई हङकङ हुँदै अन्तर्राष्ट्रिय उडानमा सहजता हुने अपेक्षा गरिएको छ। यो कदमले नेपाली राहदानीधारीहरूलाई हङकङ ट्रान्जिट रोज्न प्रोत्साहन मिल्ने र नेपाल–हङकङ द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ।
नेपाल सरकारको तर्फबाट महावाणिज्यदूतावासले हङकङ सरकारको यो सराहनीय निर्णयप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। – पशन तमू । हङकङ
(स्रोत: नेपाली महावाणिज्यदूतावास, हङकङ)


