सङ्खुवासभा । सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु भएको छ । मकालु आधार शिविर घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।
मेलुङ–७ का कार्कीलाई मकालु आधार शिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो । मकालु आधार शिविरको करिब पाँच हजार उचाइको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मङ्गलवार मृत्यु भएको हो।
मकालु आधार शिविर नजिकै स्वास्थ्य समस्या भएर मृत्यु भएको प्राप्त सूचनाअनुसार आज दिउँसो प्रहरी निरीक्षक मेघराज अर्यालको कमान्ड तीन जनाको टोली घटनास्थल पुगेको थियो । घटनाको जानकारी मङ्लबार प्राप्त भए पनि भौगोलिक विकटताका कारण आज दिउँसो मात्र प्रहरी घटनास्थल पुगेको हो।
मृतकको शव हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरी शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल प्रहरी चौकी मकालुबाट पाँच दिनको पैदल दूरीमा पर्दछ । मकालु आधार शिविरमा अहिलेसम्म यातायात र सञ्चार पहुँच पुग्न सकेको छैन। रासस


