बारा, बाराको सिमरा विमानस्थलमा बुधबार दिउँसो ठूलो तनाव उत्पन्न भएको छ। नेकपा (एमाले) का वरिष्ठ नेता शंकर पोखरेल, भानुभक्त ढकाल र महेश बस्नेत सिमरा आउने कार्यक्रम रहेको बेला तत्कालीन माओवादी र विभिन्न मधेसवादी दल निकटका आक्रोशित युवाहरूको समूह विमानस्थलमा पुगेर तोडफोड र आगजनीको प्रयास गरेका छन्।
स्रोतका अनुसार एमालेका एक नेताले प्रदर्शनकारीमध्ये एक जनालाई थप्पड हानेपछि स्थिति बिग्रिएको हो।
आक्रोशित समूहले विमानस्थलको मुख्य फलामे गेट भत्काएर भित्र पस्न खोजेका थिए। प्रहरीले बल प्रयोग गरेर भीडलाई नियन्त्रणमा लिएपछि ठूलो क्षति हुनबाट जोगियो तर विमानस्थल क्षेत्र पूरै अशान्त बनेको छ।
घटनापछि स्थानीय प्रशासनले सिमरा बजार र विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै सिमरा आउने र जाने सबै उडानहरू रद्द गरिएका छन्। एमाले नेताहरू चढ्ने भनिएको बुद्ध एयरको विमान काठमाडौंबाट उड्न सकेन भने सिमरामा अलपत्र परेका दर्जनौं यात्रुहरू समस्यामा परेका छन्।
प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आशंकामा केही व्यक्तिहरूको खोजी तीव्र पारेको छ। सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र फोटोका आधारमा उनीहरूको पहिचान र कारबाही प्रक्रिया अघि बढाइएको बुझिएको छ।
यो घटनाको चौतर्फी निन्दा भइरहेको छ। राजनीतिक कार्यक्रमका लागि आउने नेतालाई रोक्ने नाममा सार्वजनिक सम्पत्तिमा तोडफोड र विमानस्थललाई निशाना बनाउनु आपराधिक कार्य भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
बोल्ने, भेला हुने र शान्तिपूर्ण कार्यक्रम गर्ने संवैधानिक अधिकारलाई कुनै पनि समूहले बन्देज लगाउन नपाउने उनीहरूको भनाइ छ।
स्थानीय बासिन्दाहरूले भने लामो समयदेखिको राजनीतिक तनाव र गुटगत झैझगडाका कारण सधैं आफूहरूले दुःख पाउने गरेको गुनासो गरेका छन्। “राजनीतिका ठूला मान्छेहरू जे गरे पनि हुन्छ, हामीले सधैं कर्फ्यू र त्रासमा बस्नुपर्छ,” एक स्थानीयले नाम नबताउने शर्तमा भने।
सरकारले यस्ता अराजक गतिविधिमा संलग्नमाथि कडा कारबाही नगरे देशमा अस्थिरता र द्वन्द्वको खतरा बढ्ने चेतावनी राजनीतिक वृत्तबाट आएको छ।
अहिले स्थिति प्रहरीको पूर्ण नियन्त्रणमा रहेको छ र कर्फ्यू लगाउनुपर्ने अवस्था थिएन स्रोत बताउंछन्। ५०/६० जनाको भिडलाई प्रहरीले सजिलै नियन्त्रणमा लिन सक्थ्यो। तर कर्फ्यू लगाएर स्थितिलाई अनावश्यक रूपले ठूलो बनाउने र महेश बस्नेतको कार्यक्रमलाई असफल बनाउने नियोजित षड्यन्त्र देखियो, एकजनाले बताए।


