पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

–

कास्की । पोखराको परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही मङ्सिर १२ गते तेस्रो दाइँ महोत्सव आयोजना हुने भएको छ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पोखरा महानगरपालिका–२९, लेखनाथको नौबीसे टोलमा महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए।

उनका अनुसार महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण तथा किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

“महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउनुका साथै पोखरा आसपासका खेतीयोग्य जमिनको संरक्षण, किसानलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्न र कृषि पर्यटनको अवधारणालाई मूर्तरूप दिन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने।

महोत्सवमा धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मान गर्नुका साथै धान चुट्ने, दँदेरा गर्ने, गुन्द्री बुन्ने र लट्टो तान्ने प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने र सहभागी अतिथिलाई स्थानीय उत्पादन उपहारस्वरूप प्रदान गरिने उनले बताए । परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पोखराको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य महोत्सवले लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । उनका अनुसार महोत्सवमा सहभागिताका लागि ५० जना विदेशी पर्यटकले नाम दर्ता गराइसकेका छन्।

“हामीले २३औँ संस्करणसम्म रोपाइँ महोत्सव गरिसकेका छौँ । रोपाइँ महोत्सवमा सहभागी भएका पर्यटकले धान कसरी भित्र्याइन्छ भन्ने चासो राख्न थालेपछि तीन वर्षअघि दाइँ महोत्सव सुरु गरेका हौँ । अहिले मेसिनबाट धान रोप्ने, काट्ने तथा थन्क्याउने चलन बढ्दै गएको छ । यस्तो अवस्थामा हलगोरु खोजेर परम्परागत विधिबाट दाइँ गर्दै पुरानो कृषि प्रणालीलाई जीवन्त राख्ने प्रयास गरेका छौँ”, अध्यक्ष भुजेलले भने।

पोखरालाई सबै मौसममा घुम्न सकिने पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत आयोजना हुन लागेको महोत्सवले कृषि र पर्यटनबिचको सम्बन्ध विस्तार गर्दै ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताए।

रासस





Comments

comments

142599