हङकङको चिङ यी नजिकै उच्च गतिको फेरी दुर्घटना, कम्तीमा २५ जना घाइते

शुक्रबार बिहान हङकङको चिङ यी नजिकै भएको फेरी दुर्घटनामा कम्तीमा २५ जना घाइते भएका छन्। यस घटनाको तस्बिर SCMP र The Standard बाट लिइएको हो।

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २७ नोभेम्बर। हङकङको चिङ यी नजिकै शुक्रबार बिहान एउटा उच्च गतिको फेरी तैरिरहेको ड्राई डकसँग ठोक्किँदा कम्तीमा २५ जना घाइते भएका छन्।

शुक्रबार बिहान करिब ९ बजेर २५ मिनेट जाँदा चिङ यी रोड नजिकैको समुद्री क्षेत्रमा उक्त दुर्घटना भएको हो।

सिन सुन लोङ एर हाओ नामक उक्त क्रस-बोर्डर फेरी हङकङको सेउङ वानबाट चीनको सेन्जेनस्थित सेकोउतर्फ जाँदै थियो।

प्रारम्भिक अनुसन्धानका अनुसार सेउङ वानबाट छुटेको केही समयपछि नै फेरीको स्टेयरिङ प्रणालीमा प्राविधिक गडबडी आउँदा कप्तानले नियन्त्रण गुमाएका थिए। जसका कारण फेरी सिधै नजिकैको सिपयार्डमा रहेको तैरिरहेको डकमा गएर ठोक्किएको थियो।

दुर्घटनामा दुई बालबालिकासहित २५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये करिब पाँच जनाको अवस्था गम्भीर रहे पनि सबैजना होसमै रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।

घटनालगत्तै उद्धारका लागि अग्नि नियन्त्रक डुङ्गा र १५ वटा एम्बुलेन्स घटनास्थलमा परिचालन गरिएको थियो।

क्षतिग्रस्त फेरीलाई नजिकैको यिउ लियान डकयार्डमा तानेर ल्याइएपछि घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रिन्सेस मार्गरेट अस्पताल र यान चाइ अस्पताल पठाइएको छ। सम्बन्धित निकायले दुर्घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।

स्रोत: एजेन्सी





Comments

comments

142602