चरिकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गरे।
आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा उनले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गरे । उनले भने, “हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, निर्वाचनको लागि सरकार तयार छ, सबै राजनीतिक दलले निर्वाचनमा भाग लिँदैछन् । सरकारले निर्वाचनको वातावरण बनाउँछ, यो सन्देश देशभर फैलाउन जरुरी छ।”
उनले सुशासनमा सम्झौता नगर्ने भन्दै छ महिनाभित्र अनुभूति हुने गरी काम गर्ने विश्वास व्यक्त गरे । मन्त्री खरेलले जेनजी आन्दोलनको विरुद्धमा हुने कुनै पनि कार्य सरकारलाई शैह्य नहुने स्पष्ट पारे । उनले जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री खरेलका अनुसार वर्तमान सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको छ । उनले देशमा राजनीतिक दलको अत्यधिक सत्ता खेल र स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिए।
उनले भने, “देशमा स्थिर सरकार नबन्दा राजनीतिक दलको अस्थिर सत्ता–प्रतिस्पर्धा बढेर शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म प्रभाव परेको छ । अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दलले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आवश्यक छ।”


