नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। साइबाबाको एक सयौं जन्मजयन्तीको अवसर पारेर कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा भजन कीर्तन कार्यक्रम सम्पन्न भएको छ।
हनुमान चालीसा भजन कीर्तन समूहको आयोजनामा नोभेम्बर २२ बिहान ११ बजेदेखि १ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा यो कार्यक्रम सम्पन्न भएको हो।
तेत्तीस कोटी देवी–देवतामा विश्वास गर्ने नेपाली सांस्कृतिक परम्परा अनुसार सबै देवी–देवताहरूको आ–आफ्नै विशेषता र महत्व रहेको छ। आयोजक समूहले कोलोराडोमा विगत लामो समयदेखि निरन्तर रूपमा हरेक महिना हनुमान चालीसा भजन कीर्तन कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही समूहको अग्रसरतामा आज साइबाबाको आराधना, भजन कीर्तन तथा आरती सम्पन्न गरिएको हो।
नेपाली समुदायको आफ्नै घर नेपाली सांस्कृतिक केन्द्रमा सञ्चालित कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न साइबाबाप्रति आस्था राख्ने स्थानीय अमेरिकी, भारतीय, कोलोराडोस्थित धार्मिक समूहका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, गन्यमान्य व्यक्ति, पत्रकार, व्यवसायी, कलाकार, नेपाली भाषी बा–आमा, दाजुभाइ, दिदीबहिनी सबै उमेर समूहका महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सविना प्रधानले साइबाबाको दिव्य उपदेश पढेर सुनाएकी थिइन्। साइबाबाको भजन कीर्तनपछि सहभागीहरू प्रसाद ग्रहण गर्दै विदा भएका थिए। कार्यक्रमको अन्त्यमा अजय प्रधानले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए।


