नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा भोलि आइतबार आयोजना हुने ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुने दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने कलाकारहरूले प्रतिबद्धता जनाएका छन्।
अवार्ड कार्यक्रमको अघिल्लो दिन साँझ आयोजित पत्रकार भेटघाट कार्यक्रममा कलाकारहरूले उक्त प्रतिबद्धता जनाएका हुन्।
पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य साम्राज्ञी बसुन्धरा भुसाल, हास्य कलाकार केदार घिमीरे (माग्ने बुढा), नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष तथा नायक नवराज श्रेष्ठ, चर्चित नायकहरू प्रदिप खड्का, दिलिप रायमाझी, चर्चित नायिकाहरू शर्मिला मल्ल, केकी अधिकारी, गरिमा शर्मा, दिव्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा चलचित्र निर्माता मधुकुमार श्रेष्ठलगायत २ दर्जनभन्दा बढी चर्चित कलाकर्मीहरूको सहभागिता रहेको थियो।
हजुरबा पुस्ताका कलाकार निर शाह, रामचन्द्र अधिकारीदेखि नातिनी पुस्ताकी दिव्या रायमाझीसम्मलाई एउटै मञ्चमा राखी आयोजित पत्रकार भेटघाटमा विशेषगरी यो कार्यक्रम आयोजनाको उद्देश्य स्पष्ट पार्ने प्रयास गरिएको थियो। कार्यक्रममा आयोजक संस्थाका अध्यक्षद्वय कृष्ण मल्ल र नवराज श्रेष्ठले बुँदागत रूपमा उद्देश्य प्रकाश पारेका थिए भने अन्य कलाकारहरूले भोलिको कार्यक्रममा सक्दो मनोरञ्जन प्रदान गर्ने भन्दै सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका थिए।
संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै मञ्चमा जमघट गराएर नेपाली मौलिक कला–संस्कृतिलाई विश्वभरि परिचित गराउने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरिएको हो। यसले नेपाली मौलिक कला–संस्कृतिको पहिचान विश्वमाझ पुर्याउन तथा नेपाली फिल्मकर्मीहरूलाई अझ राम्रा फिल्म बनाउन प्रोत्साहन मिल्ने आयोजक संस्थाका अध्यक्षद्वयले बताएका छन्। कार्यक्रमलाई भव्यताका साथ सफल पार्न कोलोराडोवासी नेपालीभाषी आमाबुबा, दाजुभाइ–दिदीबहिनीहरूको सहयोग र सहभागिताको लागि कलाकारहरूले हार्दिक अनुरोध गरेका छन्।
भौगोलिक अवस्थितिले नेपालको काठमाडौं शहरसँग मिल्दोजुल्दो बोल्डर शहरस्थित बोल्डर थिएटरमा नोभेम्बर २३ तारिख आइतबार साँझ ४ बजेदेखि कार्यक्रम आयोजना हुनेछ। “नेपाली फिल्म : भिलेज टु ग्लोब” भन्ने नारासहित आयोजना हुन लागेको ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१६ देखि निरन्तर आयोजना हुँदै आएको छ।
“आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान : गाउँदेखि विश्वबजारसम्म” नारा लिएर ग्लोबल नेपाली फिल्म अवार्ड चलचित्रकर्मीको प्रोत्साहन र सम्मानका लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ। यस अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सान फ्रान्सिस्को र न्यूयोर्कजस्ता शहरमा सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेशन र फिलिप हार्मोनी अर्केस्ट्रा बोल्डरको संयुक्त आयोजनामा ८औं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुन लागेको हो।


