नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण अमेरिकाको कोलोराडोमा कलाकारहरूलाई सम्मान तथा सांगीतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसन र फिलिप हार्मोनी अर्केस्ट्रा बोल्डरको संयुक्त आयोजनामा आठौं एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम दर्शकहरूले खचाखच भरिएको बोल्डर थिएटरमा विभिन्न सांगीतिक कार्यक्रमका साथ कलाकारहरूलाई सम्मान गर्दै २३ नोभेम्बरमा सम्पन्न भएको हो।
फिल्म अवार्डमा झण्डै ५ दशक निरन्तर कलाक्षेत्रमा समर्पित विशिष्ट कलाकार तथा चरित्र अभिनेता रामचन्द्र अधिकारीलाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ। यसैगरी समारोहमा अभियान श्री अवार्ड, स्मृति सम्मान, उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र अभिनेत्रीसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र साहित्यकार पदम विश्वकर्मालाई अभियान श्री अवार्डले सम्मान गरिएको छ। त्यस्तै चलचित्र विकास बोर्ड र नायिका स्वस्तिमा खड्कालाई क्रमशः गीतेन्द्र धिमाल र रामकेशर बोगटी स्मृति सम्मानबाट सम्मानित गरिएको छ। अवार्ड समारोहमा चलचित्र ‘पूर्णबहादुरको सारंगी’का नायक विजय बराललाई जुरी अवार्ड प्रदान गरिने घोषणा गरिएको छ।
यसैगरी एनएफएस फेलिसिटेसन अवार्ड डायस्पोरा (प्रवास)मा बस्नेहरूको लगानीमा बनेका दुई फिल्म ‘डोरी’ र ‘कर्मा’लाई प्रदान गरिएको छ। त्यस्तै डायस्पोरामा निर्माण भएको चलचित्र ‘तेलभिसा’ र त्यसका निर्देशक शंकर घिमिरे पनि सम्मानित भएका छन्।
त्यस्तै फिल्म अफ द इयर ‘पुजार सार्की’, डिरेक्टर अफ द इयर ‘पुजार सार्की’का निर्देशक दिनेश रावत, एक्टर अफ द इयर ‘पुजार सार्की’कै प्रदीप खड्का र ‘बोक्सीको घर’बाट केकी अधिकारी, बेस्ट सपोर्टिङ रोल ‘छक्का पञ्जा ५’का केदार घिमिरे, स्टार अफ डिकेड दिलिप रायमाझी, डेब्यु एक्टर ‘बारगाउँ’बाट समीर भट्ट, ‘लन्डन टु पेरिस’बाट गरिमा शर्मा र कमिङ अप स्टारबाट दिव्या रायमाझी चयन हुन सफल भएका छन्।
यसैगरी समारोहमा वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य साम्राज्ञी बसुन्धरा भुसाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आङ तेम्बा शेर्पालाई विशेष अतिथि सम्मान प्रदान गरी सम्मानित गरिएको थियो भने सुनिल पाठक, गजेन्द्र कार्की, कृष्ण सुनार, गौतमबुद्ध महर्जन र आईबीसी इन्डिपेन्डेन्ट बायर कम्पनीलाई विशेष प्रशंसा सम्मान प्रदान गरिएको थियो।
मातृभूमि नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रम प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र विशेष अतिथि बोल्डर काउन्टी कमिस्नर मार्था लोचामिन लगायतका अतिथिहरूबाट संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो। कार्यक्रममा नेपालसहित अमेरिकामा रहेका र अमेरिका बाहिर रहेका नेपाली कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र विशेष अतिथि बोल्डर काउन्टी कमिस्नर मार्था लोचामिन, अलस्टेट इन्स्योरेन्सका सुनिल पाठक, हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले समारोहलाई सम्बोधन गर्दै कलाक्षेत्रका नक्षत्रहरूलाई सम्मान गर्ने यस्तो गौरवमय कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुसी लागेको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।
त्यसैगरी कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष तथा नायक नवराज श्रेष्ठले कार्यक्रम भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका थिए।
‘नेपाली फिल्म भिलेज टु ग्लोबल’ भन्ने नारासहित फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१६ देखि आयोजना हुँदै आएको अवार्डले यस वर्ष पनि निरन्तरता पाएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए।
आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान गाउँदेखि विश्व बजारसम्मको नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानका लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ। अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सानफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए।
यस पटकको कार्यक्रम पनि भव्यताका साथ सफल भएको र दर्शकहरूको अपार माया र सद्भावका कारण कार्यक्रम यति सफल बनाउन सकिएको तर कार्यक्रममा सहभागी हुन आउनुभएका झण्डै १५० भन्दा बढी महानुभावहरू सिट अभावका कारण फर्कनुपरेकोमा क्षमायाचना गरेको आयोजक कमिटीले जनाएको छ।
प्रखर वक्ताद्वय निशा पाठक र फिरोज तिमल्सिनाले कुशलतापूर्वक सञ्चालन गरेको कार्यक्रममा केदार घिमिरे, शम्भुजित बास्कोटा, कृष्णमुरारी ढुङ्गेल, महादेव त्रिपाठी, मनोजराज शिवाकोटी लगायतका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूले गीत, सङ्गीत, कला तथा नृत्य प्रस्तुत गरी श्रोता दर्शकको मन जित्न सफल भएका थिए।


