नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी मे महिनामा कोलोराडोमा हुने भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा आगामी मे महिनाको २२ देखि २५ तारिखसम्म चारदिने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुन लागेको हो।
साहित्य सम्मेलनको तयारीका लागि शनिबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा संघसंस्थाका प्रतिनिधि, साहित्यकार तथा नागरिक समाजका अभियान्ताहरूको बैठक बसी कार्यक्रमबारे विस्तृत जानकारी तथा तयारीका बारेमा प्रारम्भिक छलफल सम्पन्न भएको हो।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाले कार्यक्रम गर्नुको उद्देश्य र सम्मेलनको चार दिनमा आयोजना गरिने प्रस्तावित कार्यक्रमहरूको ढाँचा प्रस्तुत गरेका थिए। त्यसैगरी बैठकमा अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले यसअघिका ८ वटा सम्मेलनहरू कहिले र कहाँ–कहाँ सम्पन्न भए, कोलोराडोमा यो सम्मेलन गर्नुको कारण तथा प्रस्तावित आय–व्ययको बारेमा प्रकाश पारेका थिए। यसैगरी कार्यक्रम संयोजक तथा कोलोराडो च्याप्टरका तर्फबाट अध्यक्ष किरण अधिकारीले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न मूल समिति र विषयगत उपसमितिहरूको नाम प्रस्ताव गरेका थिए।
नेपाली भाषा–साहित्यको विकास र विश्व साहित्यमा नेपाली साहित्यको पहिचानका बारेमा अन्तरक्रिया तथा छलफल गर्दै साहित्यिक अभिरुचि बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। साहित्यिक सम्मेलनमा गजल गायन, कविता वाचन, अन्तरक्रिया, छलफल तथा साहित्यिक भ्रमण हुनेछन्।
सन् २००९ मा पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएपछि हरेक दुई–दुई वर्षमा अमेरिका, जापान, अष्ट्रेलिया, पोर्चुगल, बेलायतलगायत विश्वका विभिन्न सहरमा ८ वटा सम्मेलन सम्पन्न भइसकेका छन्। नेपालसहित विश्वका विभिन्न देशबाट १५० जना भन्दा बढी साहित्यिक अनुरागीहरू सहभागी हुने अनुमान गरिएको सम्मेलनमा करिब ५३ हजार डलर खर्च लाग्न सक्ने बताइएको छ।
कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना गर्न पाउनु नेपाली भाषीहरूको गौरवको कुरा हो भन्दै सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सहभागी सबै संघसंस्थाका पदाधिकारी तथा अभियान्ताहरूले यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको संयोजकत्वमा केन्द्रीय समितिका महासचिव, कोषाध्यक्ष, च्याप्टरका पदाधिकारी तथा कोलोराडोमा सक्रिय संघसंस्थाका अध्यक्षहरू सम्मिलित मूल समिति गठन गरिने भएको छ।
अनेसास केन्द्रीय समितिका कोषाध्यक्ष तारा अधिकारीद्वारा सहजीकरण गरिएको बैठकमा सहभागीहरूले कार्यक्रमसम्बन्धी विभिन्न जिज्ञासासहित आफ्ना सुझाव राखेका थिए। विशेष गरी सहभागीहरूले कार्यक्रम नेपालीहरूको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना गर्न सुझाव दिएका थिए। यस सन्दर्भमा आयोजक समितिले यसअघिका विभिन्न सम्मेलनका उदाहरण दिँदै पाहुनाहरूको बसाइ भएको होटलमै कार्यक्रम गर्दा बढी प्रभावकारी हुने भन्दै नेपाली घरमा चारदिने कार्यक्रममध्ये कुनै एक दिनको कार्यक्रम मात्र गर्न सकिने धारणा राखेको थियो।


