मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छन्।

-

तरङ्गीनि फाउण्डेशनले शुक्रबारदेखि काठमाडौँमा आयोजना गरेको दुई दिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उनले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिए ।

मन्त्री गौतमले मानसिक स्वास्थ्य समस्याकै कारण हरेक वर्ष सात हजार व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क पेस गर्दै यसको न्यूनीकरणका लागि सरकार, समुदाय र परिवार सँगसँगै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् ।

“तनाव, बेचैनी, एक्लोपन र आफ्नो भावना अभिव्यक्त गर्ने उपयुक्त वातावरण नहुँदा मानिसहरूमा आत्मविश्वास घट्दै गएको छ । आत्मविश्वास नभएपछि जुनसुकै गलत कदम उठाउने जोखिम हुन्छ”, उनले भनिन्,“त्यसैकारण सकारात्मक सोचको वृद्धि गर्न सबैको भूमिका अपरिहार्य छ । सरकारले आफू मातहतका निकाय, अस्पतालमार्फत सरल र सहज सेवा प्रवाह, नीतिगत सुधारमार्फत काम गर्न खोजिरहेको छ । अरु सरोकार भएकाहरुले पनि यस विषयलाई गम्भिरतापूर्वक लिएर काम गर्न आवश्यक छ।”

मन्त्री गौतमले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवस्थापकीय र नीतिगत सुधारको काममा लागिरहेको उल्लेख गरिन्।

त्यसका लागि मातहतका स्वास्थ्य संस्थामा मनोपरामर्श सहायता कक्ष, ‘टेलिभेडिसिन’ सेवामार्फत विदेशमा रहेका श्रमिकहरूलाई पनि परामर्श दिने र स्वास्थ्य नीतिअनुसारका काम तथा सुधारमा आफू लागिरहेको मन्त्री गाैतमले जानकारी दिइन्।

“नेपालमा पछिल्लो समय थुप्रै मनोपरामर्श सेवा दिने व्यक्ति तथा संस्थाहरू छन् । विभिन्न शैक्षिक संस्थाले दक्ष जनशक्ति पनि उत्पादन गरिरहेका छन्, तर पर्याप्त दरबन्दी नभएकाले तिनको उपयोग गर्न सकिएको छैन । त्यसैले जनशक्ति व्यवस्थापन, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत सचेतनामूलक सामग्रीको व्यापक प्रचार र मानसिक स्वास्थ्यमा सबैको समान र सहज पहुँच बिस्तारमा दीर्घकालीन नीतिगत काममा लागिरहेका छौँ”, मन्त्री गौतमले भनिन् । रासस





Comments

comments

134511