सुमात्रा । इन्डोनेसियाको सुमात्रा टापुमा थप भारी वर्षाको सम्भावना देखिएको छ, जसले पहिले नै बाढीबाट प्रभावित क्षेत्रहरूमा थप चुनौतीपूर्ण अवस्था सिर्जना गर्ने सङ्केत गरेको छ। अचे प्रान्तका गभर्नर मुजाकिर मनाफका अनुसार मृतकको सङ्ख्या ८८३ भन्दा बढी हुन सक्ने सम्भावना छ, जसको मुख्य कारण भोकमरी रहेको छ।
गत हप्तादेखि सुमात्रा तथा दक्षिण र दक्षिणपूर्व एसियामा आएको उष्णकटिबंधीय तूफान र वर्षाले इन्डोनेसिया, श्रीलङ्का, मलेसिया, थाइल्याण्ड र भियतनाममा प्राकृतिक प्रकोप निम्त्याएको छ, जसका कारण अहिलेसम्म एक हजार ७७० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
इन्डोनेसियाको मौसम विभागले अचे र उत्तर सुमात्रामा पुनः वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। यी क्षेत्रमा बाढीले सडक बगाएको, घर माटोले ढाकिएको र आपूर्ति रोकिएको अवस्था छ। गभर्नर मनाफले भनेका छन्, “टोलीहरूले अझै माटोमा शव खोजिरहेका छन्। यसैबीच, सबैभन्दा ठूलो चुनौती भोकमरी बनेको छ।”
गभर्नरले थपेका छन्, “धेरै क्षेत्र अझै पहुँचविहीन छन्। मानिसहरू बाढीका कारण मर्दैनन्, तर भोजन अभावले पीडित छन्।” अचे टामियाङ्ग क्षेत्रमा केही गाउँ पूर्ण रूपमा बाढीले प्रभावित भएका छन्।
अचेका बासिन्दा मुनावर लिजा जैनलले सरकारले तत्काल राष्ट्रिय प्रकोप घोषणा नगरी बस्दा आफूलाई निराश महसुस भएको बताएका छन्। उनले यो असाधारण प्रकोप भएकाले विशेष उपाय आवश्यक रहेको र राष्ट्रिय प्रकोप घोषणामा ढिलाइ भए त्यसको प्रभाव सीमित हुने धारणा राखेका छन्। विश्लेषकहरूले राष्ट्रिय प्रकोप घोषणा ढिला हुनुको सम्भावित कारण अतिरिक्त विदेशी सहायता प्राप्त गर्ने प्रयाससँग सम्बन्धित हुन सक्ने सुझाव दिएका छन्, तर सरकारले स्थिति व्यवस्थापन गर्न सकिने विश्वास व्यक्त गरेको छ।
सुमात्राका अन्य भागमा बाढी फिर्ता गएको र नदीको स्तर घट्दा क्षतिको वास्तविक परिमाण स्पष्ट हुँदै गएको छ। इन्डोनेसियामा मृतकको सङ्ख्या शनिबार बिहान ८८३ पुगेको छ भने ५२० जना अझै बेपत्ता छन्। अन्य देशहरूमा श्रीलङ्कामा ६०७, थाइल्याण्डमा २७६, मलेसियामा दुई र भियतनाममा दुई जनाको मृत्यु भएको छ।
जलवायु परिवर्तनका कारण वर्षा अब अझ अनियमित र अप्रत्याशित भइरहेको विश्लेषकहरूको भनाइ छ। रासस


