ओलीको कडा चेतावनी: एमाले नेतृत्वमाथि हमला भए देश ठप्प हुन्छ, सरकार ढल्छ

काठमाडौं, पुस ३ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक हमला हुन सक्ने खतरा बढेको बताउँदै कडा चेतावनी दिएका छन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन समापन तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले यस्तो हमला भए देश ठप्प पार्नुपर्ने र वर्तमान सरकार ढल्नुपर्ने बताए। उनले आफ्ना कार्यकर्तालाई यसका लागि तयार रहन समेत निर्देशन दिएका छन्।

“एमालेमाथि अहिले मिडिया ट्रायल भइरहेको छ। पञ्चायतकालजस्तै जालसाजीका मुद्दा लगाउन खोजिँदै छ। अब भौतिक हमलाको सम्भावना पनि बढ्दो छ,” ओलीले भने, “एमाले नेतृत्वमाथि भौतिक हमला भएको दिन यो देश ठप्प हुनुपर्छ। यो निरङ्कुश सरकार ढल्नुपर्छ। त्यसका लागि सबै तयार रहन म निर्देशन दिन्छु।”

ओलीले भदौको घटनालाई सम्झँदै पार्टीमाथि धोका भएको बताए। उनले भने, “भाद्र २४ गते पार्टीलाई धोका भयो। अब हामी देशभरि सुरक्षा समिति गठन गरेर सतर्क रहन्छौँ। एमाले देशको साथमा छ, कसैले छोयो भने देश ठप्प हुन्छ।”

गत भदौमा जेनजी आन्दोलनका क्रममा ओली नेतृत्वको सरकार ढलेको र पार्टी कार्यालय तथा नेताहरूको घरमा आक्रमण भएको स्मरण गर्दै ओलीले एमाले अजम्बरी रहेको दाबी गरे।

महाधिवेशनबाट ओली ठूलो मतान्तरले तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै नेतृत्वमा निरन्तरता पाएका हुन्।

एमालेले अब संसद् पुनर्स्थापना र लोकतन्त्र रक्षा गर्न सशक्त आन्दोलन गर्ने संकल्प पनि व्यक्त गरेको छ।





Comments

comments

134724