पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्धतिअनुसार पार्टी सञ्चालन गर्न सुझाव दिएका छन्।

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि र केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि आफ्नो पहिलो प्रतिक्रिया दिँदै निवर्तमान वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो धारणा राखेका हुन्।

उनले महाधिवेशनका क्रममा आफूले उठाएका वैचारिक मुद्दाहरूले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्। पोखरेलले जनताको बहुदलीय जनवादको मर्मअनुसार पार्टीभित्र नियन्त्रण र सन्तुलनको सिद्धान्त पालना हुनुपर्नेमा जोड दिए।

उनले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै चुनावी प्रतिस्पर्धामा पराजित भए पनि पार्टीको मूल उद्देश्यबाट विचलित नहुने स्पष्ट पारे। देशभक्तिपूर्ण आन्दोलन, लोकतन्त्रको रक्षा र समाजवादको आधार निर्माण गर्ने एमालेको बृहत्तर अभियानमा आफ्नो संलग्नता र सक्रियता अटुट रूपमा रहिरहने प्रतिबद्धता समेत उनले जनाएका छन्।





Comments

comments

134727