तीन दशकपछि पोखरामा एक्स नेपथ्यले लाइभ ब्यान्ड प्रस्तुति दिँदै..

तीन दशकपछि पोखरामा एक्स नेपथ्यले लाइभ ब्यान्ड प्रस्तुति दिँदै
ओरिजिनल आवाज लिएर आउँदै नेपथ्यका संस्थापक रविन श्रेष्ठ र गौतम गुरुङ
पोखरा, पोखरा सडक महोत्सवको मुख्य आकर्षण सांगीतिक उत्सव हो। अनि सांगीतिक उत्सवको मुख्य आकर्षण न्यू इयर इभ स्पेसल कार्यक्रम हो। जहाँ यस वर्ष एक्स नेपथ्य तीन दशकपछि पोखरामा गुञ्जिँदैछ।

नेपथ्य ब्यान्डका स्थापनाकालीन गायकहरू रविन श्रेष्ठ र गौतम गुरुङ पोखरा सडक महोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सव कार्यक्रम अन्तर्गतको हिट्स अफ नाइन्टिजमा गुञ्जिन लागेका हुन्। जसका लागि उनीहरू बेलायत (युके)बाट डिसेम्बर ३० मा काठमाडौँहुँदै पोखरा आइपुग्ने छन्।

रेवान पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको अवसरमा कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा आफू आउन लागेको हाल युकेमा रहेका एक्स नेपथ्यका रविन श्रेष्ठले जानकारी दिए। आफू र गौतम गुरुङ लाइभ ब्यान्ड प्रस्तुतिका लागि तयारी अवस्थामा रहेको उनले बताए। पोखरामा आफूले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनैभरि, नक्कली कान्छी, आँखैमा झलझली, गोधुली साँझ, वर्षातको समयलगायतका गीत प्रस्तुत गर्ने उनले बताए।

पोखरामा लाइभ ब्यान्ड प्रस्तुतिका लागि आफू उत्साहित रहेको उनले बताए। झण्डै तीस वर्षपछि पोखरामा लाइभ ब्यान्ड प्रस्तुतिका लागि आउँदैछु, उनले भने, ‘म सुपर एक्साइटेड छु। किनकि ब्यान्ड छाडेपछि पहिलो पटक नेपालमा प्रस्तुति दिँदैछु। आशा छ मलाई साथ दिन पोखरेली दर्शकहरू आउनुहुनेछ।’ उनले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई ९० को दशकमा फर्काउने बताए। ‘म मेरो ओरिजिनल भोकल सुनाउन आतुर छु। मसँगै पोखरेली दर्शक पनि नोस्टाल्जिक हुनेमा विश्वस्त छु।’ उनले आफ्नो स्वरमा रहेको सो गीत नेपाली दर्शकले सुन्न नपाएकाले यो पोखरेली दर्शकका लागि एउटा राम्रो अवसर भएको बताए।

एक्स नेपथ्य गायक श्रेष्ठले यो बीचमा आफूले विदेशमै भए पनि गीत–संगीतमा काम गरिरहेको बताए। आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।

एक्स नेपथ्यका अर्का गायक गौतम गुरुङले आफू पनि पोखरेली दर्शकलाई मनोरञ्जन दिनका लागि न्यू इयर इभमा प्रस्तुति लिएर आउन लागेको बताए। हामी पहिलोपटक पोखरेली दर्शकमाझ लाइभ ब्यान्डमार्फत आउँदैछौं, उनले भने, ‘पोखरेलीलाई ९० को दशकमा फर्काएर आपसी माया सुमधुर बनाउँदै नोस्टाल्जिक बनाउने छौं।’ सो दिन आफूले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकाश, यार्लिङ कहाँ खस्यो? लगायतका चर्चित गीतहरू प्रस्तुत गर्ने उनले जानकारी दिए। कार्यक्रमका लागि आफू पनि उत्साहित रहेको बताउँदै उनले थपे, ‘यो हाम्रो होमटाउन हो, त्यो पनि पहिलो पटक पोखरामा स्टेज चढ्दैछौं। नेपथ्यको ओरिजिनल आवाज सुनाउन हामी आतुर छौं। पक्कै पनि दर्शकको अपार माया पाउँछौं भन्ने विश्वास छ।’

अल टेक नेपालको आयोजनामा हुने पोखरा सांगीतिक उत्सव अन्तर्गत हुने हिट्स अफ नाइन्टिजको न्यू इयर इभमा एक्स नेपथ्यसँगै डि–मर्चा, लेकाली, देउराली र उज्ज्वल शाक्यले लाइभ ब्यान्ड प्रस्तुति दिनेछन्। सो दिन अहिलेकी भाइरल डान्सर कार्टुन क्रुकी आस्मा विश्वकर्माको विशेष प्रस्तुति रहनेछ। न्यू इयर इभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल छिकिरि छिकिरिलगायतका गीतहरूमा डान्स प्रस्तुति दिनेछिन्।

सांगीतिक उत्सव अन्तर्गत पुस १५ गते गुरुङ समुदायको ल्होसार विशेष कार्यक्रम हुनेछ। उक्त दिन दिउँसोदेखि साँझसम्म स्वप्न सुमन, केआर लिम्बु र चक्र ब्यान्ड ब्लास्ट हुनेछन्। तथा दिउँसो प्रीति आले, देउराली ब्यान्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुति रहने जनाइएको छ।

त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि विजेता तथा उपविजेताहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ।

अल टेक नेपालको आयोजनामा हुने हिट्स अफ नाइन्टिज कार्यक्रमको मुख्य प्रायोजकमा प्रोटोन गाडी रहेको छ भने राइड पार्टनरमा टीभीएस र एजुकेसन पार्टनरमा गण्डकी इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी रहेका छन्।





Comments

comments

134785