मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित शीतोष्ण बागबानी विकास केन्द्रले स्याउ खेतीमा क्रान्ति ल्याउने उद्देश्यका साथ उच्च घनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाइन रुट स्टक’ जातका बिरुवा उत्पादन सुरु गरेको छ।
नेपालमा हालसम्म यो प्रविधिबाट यस्ता बिरुवा उत्पादन हुन नसकेको अवस्थामा केन्द्रले आफ्नै तन्तु प्रजनन प्रयोगशाला (टिस्यु कल्चर ल्याब) मार्फत यो सफलता हासिल गरेको हो। यसअघि यस्ता बिरुवाका लागि पूर्ण रूपमा विदेशकै भर पर्नुपर्ने बाध्यता थियो।
केन्द्रले वि.सं. २०७८ मा स्थापना भएको प्रयोगशालाको तीन वर्षको निरन्तर अध्ययन र विभिन्न प्रोटोकलको विकासपछि व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाएको हो। जैविक प्रविधि प्राविधिक अधिकृत अशोक लिम्बूका अनुसार चालु आर्थिक वर्षमा केन्द्रले मुस्ताङको घाँसा र मार्फामा गरी करिब ६ हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको छ। केन्द्रले गत वर्ष परीक्षणका रूपमा उत्पादन गरेका ३०० बिरुवामाथि अहिले विस्तृत अध्ययन भइरहेको छ र छिट्टै किसानहरूलाई उपलब्ध गराइने तयारी छ।
हाल मुस्ताङका किसानहरूले इटालीबाट आयात गरिएका महँगा हाईब्रिड बिरुवा रोप्दै आएका छन्, जसको प्रतिबिरुवा मूल्य एक हजार रुपैयाँभन्दा बढी पर्ने गर्छ। केन्द्रले आफ्नै प्रविधिबाट बिरुवा उत्पादन गर्न थालेपछि किसानले सस्तो मूल्यमा गुणस्तरीय र आनुवंशिक रूपमा एकैनासका बिरुवा पाउने सुनिश्चित भएको छ। थोरै क्षेत्रफलमा धेरै उत्पादन दिने र छिटो फल्ने भएकाले मुस्ताङमा पछिल्लो समय उच्च घनत्व प्रविधिको स्याउ खेतीतर्फ आकर्षण बढ्दो छ।
यद्यपि, ठूलो परिमाणमा बिरुवा उत्पादन गर्नका लागि आवश्यक ‘हाईटेक’ सिसा घर जस्ता पूर्वाधारको भने अझै अभाव छ। पर्याप्त पूर्वाधार भएमा केन्द्रले वर्षमा ५० देखि ६० हजारसम्म बिरुवा उत्पादन गर्न सक्ने क्षमता राख्छ। मुस्ताङमा हाल ८३७ हेक्टरमा स्याउ खेती भइरहेकोमा ६२ हेक्टरमा हाईब्रिड स्याउ लगाइएको छ। केन्द्रले उत्पादन गरेका नयाँ बिरुवालाई मुस्ताङको उच्च, मध्यम र न्यून उचाइका विभिन्न स्थानमा परीक्षण गरी देशभरका स्याउ पकेट क्षेत्रमा विस्तार गर्ने योजना छ।


