कोलोराडोमा आयोजित तमु ल्होसारमा राजु परियारले सबैलाई नचाए

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
जनवरी ३, कोलोराडो अमेरिका। तमु ल्होसारको अवसरमा कोलोराडो निवासी तमुहरूले वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै ल्होसार सम्पन्न गरेका छन्।

तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले राजु परियारको विशेष सांगीतिक प्रस्तुतिसँगै आफ्नो संस्कृति परम्परा अनुसार सर्प वर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका हुन्। वयोवृद्ध बलबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा राजु परियारको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम भौगोलिक हिसाबले काठमाण्डौंसँग मिल्दोजुल्दो बोल्डर नगरमा सम्पन्न भएको हो।

तमु धी कोलोराडोका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वयोवृद्ध बलबहादुर गुरुङद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो। कार्यक्रमको सुरुमा नेपाली, अमेरिकी र गुरुङ राष्ट्रिय गान गाइएको थियो। कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका प्रतिनिधि, लोक गायक चन्द्र शर्मा, गन्यमान्य, व्यवसायी, पत्रकार, तमु समुदायका सदस्य तथा नेपाली भाषी बा–आमा, दाजुभाइ–दिदीबहिनीहरूको हलमा खचाखच उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई खादा लगाइदिई सम्मान गरिएको थियो।

प्रकाश गुरुङद्वारा सञ्चालित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष चन्द्रमान गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्व र आवश्यकता बारे प्रकाश पारेका थिए। उनले हाम्रो भाषा संस्कृति हराए हाम्रो पहिचानै हराउने छ भन्दै यसलाई आफ्नो सन्ततिमा जस्ताको तस्तै हस्तान्तरण गर्ने वातावरण सृजना गर्न सबैलाई अनुरोध गरे। स्थानीय समुदायलाई तमु संस्कृतिको पहिचान गराउनुको साथै तमु संस्कृति जोगाइराख्न कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरू तमुहरूको आफ्नै परम्परागत पहिरनमा सजिएर आएका थिए। औपचारिक कार्यक्रमपछि आयोजित साङ्गीतिक कार्यक्रम सरिता गुरुङ र गौप्रसाद गुरुङद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो। समारोहमा तमु भाषा अध्ययनरत छात्रछात्राहरूले आफ्नो अध्ययनको क्रममा खिचिएका विभिन्न गतिविधिको भिडियो तथा गुरुङ भाषाको सङ्गीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए। विगत ४ वर्षदेखि कोलोराडोमा गुरुङ भाषाको कक्षा सञ्चालन हुँदै आएको र हाल १२ जना छात्रछात्रा अध्ययनरत रहेको भाषा शिक्षक शंकर गुरुङले बताएका छन्। कार्यक्रममा अन्य धेरै स्थानीय कलाकारहरूले विभिन्न भाषाको कुशल सङ्गीतमा एकल तथा सामूहिक नृत्य प्रस्तुत गरी दर्शकको मन जित्न सफल भएका थिए। तमु समुदायका सदस्यहरूले कार्यक्रम सुरु हुनु अघि लामा गुरुद्वारा विधिपूर्वक पूजाआजा गराइ आशीर्वाद थापेका थिए।

स्थानीय कलाकारहरूको प्रस्तुतिपछि वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारको प्रस्तुति रहेको थियो। उनले आधा दर्जनभन्दा बढी विभिन्न चर्चित गीतहरू गाएर दर्शकहरूलाई खूब नचाएका थिए। राजु परियारको प्रस्तुतिपछि डिजे कार्यक्रम रहेको थियो।

नेपालमा मूलतः ३ किसिमको ल्होसार मनाउने गरिन्छ। गुरुङहरूले तोला, तामाङहरूले सोनाम र शेर्पाहरूले ग्याल्पो ल्होसार मनाउने चलन छ। उनीहरूले यस वर्ष गिद्ध वर्गलाई बिदाइ गर्दै सर्प वर्गलाई स्वागत गरेका छन्। ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुःख, दोषको ग्रहदशा शान्ति गराउँछन् र भोलिपल्ट नयाँ दिनको उदाउँदो घामसँगै नयाँ वर्षको स्वागत गर्दछन्। उनीहरू आ–आफ्नो समुदायका गन्यमान्यको घरघरमा गएर आशीर्वाद लिने गर्दछन्।





Comments

comments

134953