नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
जनवरी ४, कोलोराडो अमेरिका। अमेरिकाको कोलोराडो राज्यले अक्टोबर २३ तारिखलाई औपचारिक रूपमा नेवाः डे को रूपमा मान्यता दिने घोषणा गरेको छ।
नेवाः समुदायको सांस्कृतिक पहिचान, भाषा, रीतिरिवाज र परम्पराको सम्मान स्वरूप अक्टोबर २३ तारिखलाई औपचारिक रूपमा नेवाः डे घोषणा गरेको कोलोराडो राज्यका गभर्नर जारेड पोलिसद्वारा हस्ताक्षर गरी जारी गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ।
कोलोराडो नेवाः खलःको आयोजनामा नेवाः डे घोषणा सम्बन्धी जानकारी सार्वजनिक गर्न आइतबार नेपाली घरमा आयोजित प्रेस मिट कार्यक्रममा संस्थाका महासचिव सञ्जय शाक्यले नेवाः डे घोषणा सम्बन्धी सम्पूर्ण जानकारी गराएका थिए।
कार्यक्रममा खलःलाई कोलोराडो स्टेटबाट प्राप्त प्रमाणपत्र समाजसेवीद्वय डा. विजयराज शर्मा र नारायण श्रेष्ठले संयुक्त रूपमा अनावरण गरेका थिए। अनावरणपछि समारोहलाई सम्बोधन गर्दै डा. विजयराज शर्माले नेवाः डे घोषणा हुनु हामी सबै नेपालीहरूको लागि गौरवको विषय भएको भन्दै यसले नेपाल र नेपालीको शिर उच्च बनाएको बताए। यसैगरी नारायण श्रेष्ठले नेवाः खलःको सक्रियता र अथक प्रयासबाट आज महत्वपूर्ण उपलब्धि हासिल भएको भन्दै यसले नेवारी संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने बताएका थिए।
कोलोराडोका गभर्नर जारेड पोलिसको हस्ताक्षर र राज्यको कार्यकारी छाप सहित प्राप्त प्रमाणपत्रमा काठमाडौँ उपत्यकाका आदिवासी नेवाः समुदायको सांस्कृतिक सम्पदा, भाषा, कला र रीतिरिवाज परम्पराको प्रशंसा गरिएको छ। कोलोराडोमा बसोबास गर्ने नेवाः समुदायले राज्यको सांस्कृतिक विविधता र आर्थिक समृद्धिमा दिएको योगदानप्रति उच्च मूल्यांकन गर्दै धन्यवाद प्रकट गरिएको छ। प्रमाणपत्रमा कोलोराडो नेवाः खलः नामक गैरनाफामूलक संस्थाले नेवाः संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न निरन्तर सक्रिय रहेको छ। उक्त संस्थाले कोलोराडोभरिका नेवाः र अमेरिकीहरूबिच आपसी सद्भाव र एकताको भावना मजबुत बनाउँदै आएको उल्लेख गरिएको छ। नेवाः समुदायको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै म जारेड पोलिस, कोलोराडो राज्यको गभर्नरको हैसियतले अक्टोबर २३ लाई नेवाः डे को रूपमा घोषणा गर्दछु भनिएको छ।
नेपाली सांस्कृतिक केन्द्र घरमा आयोजित कार्यक्रममा स्थानीय संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवीहरू तथा खलःका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष भूषण श्रेष्ठले नेवाः समुदायको भाषा संस्कृतिलाई विश्वभर फैलाउन तथा संरक्षणमा यसले महत्वपूर्ण योगदान दिने छ भन्दै स्टेटले नेवाः डेको मान्यता दिएकोमा खुसी व्यक्त गरेका छन्। उनका अनुसार गत वर्ष अक्टोबर २३ मा न्हु दँया भिन्तुना परेको हुनाले त्यसै दिनलाई नेवाः डे का रूपमा मान्यता दिन स्टेटमा आवेदन दिइएको थियो।


