जेनजी आन्दाेलन : योगबहादुरकाे आमाबुबालाई सुखी राख्ने सपना अधुरै रह्याे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौँ पुगेका थिए । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै थिए।

योगबहादुरका दाजु रामकृष्ण श्रेष्ठ अभिभावकका रुपमा प्रत्येक दिनजसो भाइलाई फोन गरिरहन्थे । दाजुभाइबिच पारिवारिक समृद्धिका विषयमा भलाकुसारी हुन्थ्याे ।

गत भदौ २३ गते काठमाडौँमा जेनजी पुस्ताको आयोजनामा सरकारलाई खबरदारी गरिएको थियो । सो क्रममा प्रहरी र विद्यार्थीबिच झडप भयो । त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर ठूलो सङ्ख्यामा आन्दोलनकारी युवा विद्यार्थीको निधन भयो । सोही घटनाका विषयलाई लिएर भोलिपल्ट काठमाडौँसहित देशभर विरोध प्रदर्शन भयो ।

योगबहादुर त्यसदिनको विरोध प्रदर्शनमा सामेल भए । गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गरे ।

फोन उठे पनि तर त्यो आवाज भाइको थिएन । “भाइ आन्दोलनस्थलमै गोली लागेर ढलिसकेका रहेछन्, अर्को एक जनाले फोन उठाएर तपाईंको मान्छेलाई एम्बुलेन्समा लगेको छ भनेपछि हामी अत्तालियौँ, उनलाई रातभर काठमाडौँका अस्पतालमा खोज्यौँ, पछि बुझ्दै जाँदा त्रिवि शिक्षण अस्पतालमा भाइको शव फेला पर्‍याे,” गहभरि आँशु पार्दै रामकृष्णले भने ।

योगबहादुरलाई आन्दोलनका क्रममा कोखामा गोली लागेको रहेछ । “भ्रष्टाचारमुक्त देश माग्दा भाइले गोली खाएर ज्यान गुमाउनुपर्‍याे, जसले सिङ्गो परिवार मर्माहत त भएको छ, त्यससँगै बलिदानी खेर जाला भन्ने चिन्ताले पिरोलेको छ,” दाजु रामकृष्णले भने । योगबहादुर जेनजी आन्दोलनमा सहभागी भएका बारेमा परिवारजनलाई थाहै थिएन । परिवारलाई भाइ कोठामै बसेको होला भन्ने लागेको थियो । “उ आन्दोलनमा गएको हामीलाईपछि मात्रै थाहा भयो, यस्तो घटना घट्ला भन्ने कल्पना पनि थिएन,” रामकृष्णले भने ।

गाउँमै हुँदा पनि योगबहादुर दुःखी गरिबको सेवामा तल्लिन थिए। विपन्न र उपचार नपाएर नागरिकको मृत्यु भएका घटनाले उनलाई घोचिरहने गर्थ्याे । योगबहादुर पुतलीसडकमा फूपुको घरमा बस्थे । योगबहादुरको निधनको खबर सुनेपछि कामका सिलसिलामा बाह्रबिसे बजार झरेका दाजु रामकृष्ण सबै काम छाडेर हत्तपत्त घर फर्किए ।

काठमाडौँमा भएका आफन्तलाई फोन गरेर भाइका बारेमा बुझ्न आग्रह गरे । तर, भाइको बारेमा केही जानकारी पत्ता लागेन । त्यो दिन सम्झदै दाजु रामकृष्णले भने, “त्यो दिन भाइको अवस्था पत्ता लगाउनै सकिएन ।”

भाइको मोबाइल, कलेजको परिचयपत्र केही नहुँदा अस्पतालले समेत पहिचान गरेर जानकारी दिन सकेनन् । रातिसम्मै आफन्त र साथीसँग सोधपुछ चलिरह्यो । कतै समाचार वा सामाजिक सञ्जालमा गोली लागेर मृत्यु भएको भन्ने सुन्दा पनि उनको परिवार आत्तिन्थ्यो । रातभर जागै बसे पनि परिवारले योगबहादुरको खबर पाएन । भदौ २५ गते बिहानै बुबा तिलकबहादुर र आमा देवीमायासहित परिवारजन काठमाडौँ पुगे ।

“त्यहाँ गएर खोजबिन गर्दा धेरै घाइतेलाई सिभिल अस्पतालमा राखिएको थाहा पाएँ । त्यहाँ गएँ तर योगबहादुर भेटिएनन् । अस्पताल–अस्पताल चहार्दै गएँ । घाइते र शव दुवै हेर्न थाले । जब शिक्षण अस्पतालको शवघर पुगेँ, त्यहाँ योगबहादुरको शव भेटियो”, दाजु रामकृष्णले भने ।

घरका कान्छो छोरा योगबहादुरको सानैदेखि आमाबुबालाई खुसी र सुखी राख्ने सपना थियो । रामकृष्णका अनुसार योगबहादुर कुनै राजनीतिक दलमा आबद्ध थिएनन् ।

जेनजी आन्दोलनमा जानेबारे घरपरिवार कसैलाई जानकारी पनि थिएन । गत भदौ २३ गते काममा व्यस्त भएकाले रामकृष्णले दिउँसो मात्र फोन भाइलाई फोन गरेका थिए । उनलाई योगबहादुर कोठामै छ होला भन्ने लाग्थ्यो । “तर अब उ त गइसक्यो । भाइको बलिदान खेर नजाओस् भन्ने परिवारको चाहना छ”, दाजु रामकृष्णले भने ।

सहिद परिवार व्यक्तिगत भन्दा पनि सामूहिक रूपमै अगाडि बढ्नुपर्नेमा रामकृष्णको जाेड छ । जेनजी आन्दोलनले चाहेजस्तो परिवर्तन हुनुपर्ने उनले बताए । “यति ठूलो बलिदान, पुरानै नेता र दललाई प्राथामिकता दिन भएको होइन, निर्वाचनबाट नयाँ शक्ति आउनैपर्छ”,उनले भने ।

जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ ।

जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरुप रु १५ लाख आर्थिक सहयोग गसिकेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ ।





Comments

comments

135003