‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

पोखरा । २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा स्पेसियल अवार्डबाट सम्मानित तुल्सी कुमार गुरुङले आफूले प्राप्त गरेको पुरस्कार रकम पोखराका दुई वटा क्लबलाई प्रदान गरेका छन्।

हङकङलाई कर्मथलो बनाउँदै आएका नेपालका एक मात्र तेक्वान्दो नवौं डान प्राप्त गुरुङले अवार्डबाट प्राप्त नगद रु. १ लाख दुई क्लबलाई बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे । उनले सहारा क्लबको आसन्न २५औं आहा रारा पोखरा गोल्डकपका लागि नगद रु. ५० हजार आयोजक सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा र पहिलो पटक लिगमा प्रतिनिधित्व गर्न सफल एलजी एशोसिएसनका अध्यक्ष डम्बरजंग गुरुङलाई नगद रु. ५० हजार हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण गर्दै स्पेसियल अवार्डबाट सम्मानित समाजसेवी गुरुङले पोखराको फुटबल विकासमा दुवै क्लबहरूको योगदान महत्वपूर्ण रहेकोले थप उत्साह जगाउन आफूले सो रकम प्रदान गरेको जनाए। उनले भने– “तपाईं दुवै क्लबहरू गण्डकीको शान हुन् । यहाँहरूले यहाँको फुटबल जोगाउन खेलेको भूमिका प्रशंसनीय छ । अब यहाँहरू दुवै क्लब अन्तर्राष्ट्रिय स्तरमा नै परिचित हुने गरी फुटबलको क्षेत्रमा अघि बढ्नुस्। पोखरालाई फुटबल मार्फत विश्वमा चिनाउन भूमिका खेल्न म शुभकामना दिन चाहन्छु ।”

कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापा र एलजीका अध्यक्ष गुरुङले सहयोगका लागि आभार व्यक्त गरे।

सो अवसरमा सहारा क्लबका सल्लाहकार सुनिल गुरुङ, सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, एलजी एशोसिएसनका प्रमुख प्रशिक्षक किरण श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

तस्विरः सुदर्शन रञ्जित





Comments

comments

135041