ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोलोराडोमा स्वागत

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
जनवरी १०, कोलोराडो अमेरिका। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोलोराडो निवासी नेवाः समुदायले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

ललितपुर महानगरपालिका र अमेरिकाको कोलोराडो स्थित City of Broomfield बीच हुन गईरहेको Sister City Signing गर्नका लागि कोलोराडो आइपुगेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई नेवाः समुदायले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा भेटघाट गरेका हुन्।

कोलोराडो नेवाः खलःको आयोजनामा सम्पन्न स्वागत तथा भेटघाट कार्यक्रममा ललितपुर महानगरपालिकाका वडा नम्बर १३ का अध्यक्ष गणेश केसी, हेल्पिङ ह्यान्डका अध्यक्ष नारायण श्रेष्ठ, नेवाः खलःका पदाधिकारी तथा कोलोराडोमा सक्रिय नेपाली संघसंस्थाका प्रतिनिधिहरू लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो।

नेवाः खलः मिसा कवःका संयोजक रमिता तुलाधरले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेकी थिइन् भने हेल्पिङ ह्यान्डका अध्यक्ष नारायण श्रेष्ठले चिरीबाबुको चिनारी गराएका थिए । चिनारी गराउने क्रममा समाजसेवी नारायण श्रेष्ठले एक भद्र, इमान्दार तथा कर्तव्यनिष्ठ जनप्रतिनिधिको नमुना हो भन्दै, बोलेर भन्दा काम गरेर जनतामाझ चिनिएका नगरप्रमुख हुन् भनेका थिए।

कोलोराडो नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले नेवाः खलः स्थापना कालदेखि भए गरेका मुख्य कार्यक्रमहरूको जानकारी गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले मातृभूमिदेखि सात समुद्र टाढा बसोबास गरे पनि आफ्नो भाषा, संस्कृति, परम्परा बचाउन निरन्तर सक्रिय रहेको देख्दा ज्यादै खुसी लागेको भन्दै नेवाः खलःलाई धन्यवाद दिए । छोटो समयमा पनि कार्यक्रम आयोजना गरी आफूलाई नेपाली समुदायबीच साक्षात्कार हुने मौका दिएकोमा खुसी लागेको भन्दै नेपाल आउँदा ललितपुर महानगरपालिकाको वर्तमान अवस्था अवलोकन गर्न सबैलाई अनुरोध गरे।

आफू यहाँ स्थित ब्रुमफिल्ड सिटीसँग सिस्टर सिटी भएपछि केही पाइन्छ कि भन्ने आशले नभई एक आपसमा संस्कृति, सभ्यता आदानप्रदान गर्ने उद्देश्यले आएको प्रष्ट्याए । उनले ललितपुर महानगरपालिका यसअघि नै कोरियाको छेयोन सिटी र रुसको Ulan-Ude सिटीहरूसँग भगिनी सम्बन्धमा आबद्ध भइसकेको र जनवरी १३ सोमबार ब्रुमफिल्ड सिटीका मेयर Guyleen Castriotta सँग सिस्टर सिटी Signing गरेपछि विश्वका तीन देशका शहरहरूसँग भगिनी सम्बन्धमा आबद्ध हुने बताए।

ललितपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकाल बिताइरहेका महर्जनले भगिनी सम्बन्ध अन्तर्राष्ट्रिय शहरहरूसँग मात्र नभई मातृभूमिकै दुर्गम नगरपालिकाहरू चन्दननाथ नगरपालिका जुम्ला, शारदा नगरपालिका सल्यान, भीमेश्वर नगरपालिका दोलखा, चैनपुर नगरपालिका संखुवासभा लगायतका ६ नगरपालिकाहरूसँग पनि भगिनी सम्बन्ध रहेको बताए । कार्यक्रममा उनले विनाशकारी भूकम्पबाट तहसनहस भएको सम्पदाहरू पुनर्निर्माण गर्न केन्द्रीय बजेटको आशा नगरी स्थानीय स्रोत र साधन जुटाई सबै जस्ताको तस्तै बनाइसकेको भन्दै इच्छा, चाहना र स्वच्छ मन भए सबैको साथ र सहयोग हुने बताए।

छिमेकी राष्ट्रहरूले नेपालको सम्पदाको सिको गरी विश्व सम्पदा सूचिमा आफ्नो सम्पदा भनी नाम लेखाइसक्दा अनेकौं सम्पदाले सम्पन्न नेपाल भने राष्ट्रिय पहल नपुग्दा पछाडि परिरहेको भन्दै नेवारी परिकार योमरीलाई अमूर्त सांस्कृतिक सम्पदाको रूपमा दर्ता गराउन युनेस्कोसँग पहल भइरहेको बताए । सन् १९७९ देखि युनेस्कोको सदस्य रहेको ललितपुर महानगरपालिका अन्तर्गत पाटन दरबार स्क्वायर विश्व सम्पदा सूचिमा समावेश रहेको छ।

कार्यक्रममा नेवाः खलःका तर्फबाट मेयर चिरीबाबुलाई खादा, फूलको गुच्छा तथा मायाको चिनो प्रदान गरी स्वागत र सम्मान गरिएको थियो । समारोहमा महानगरपालिकाको तर्फबाट पनि मेयर चिरीबाबुले खलःका अध्यक्ष भुषणलाल श्रेष्ठलाई मातृभूमिको कोसेली हस्तान्तरण गरेका थिए।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालित कार्यक्रममा मेयर महर्जनलाई धिमेबाजा प्रदर्शन गराइएको थियो । कार्यक्रममा सहभागीहरूले मेयर समक्ष आगामी राजनीतिक यात्रा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेनसँगको सम्बन्ध, नगरपालिकाको लोपोन्मुख सम्पदाको संरक्षण, भावी योजनालगायतका जिज्ञासा राखेका थिए । कार्यक्रम खलःका महासचिव संजय शाक्यले सञ्चालन गरेका थिए । यसअघि नै कोलोराडोका दुईवटा शहरहरू बोल्डर र सुपिरियर सिटी क्रमशः काठमाडौं महानगरपालिका र संखुवासभाको खाँदबारीसँग भगिनी सम्बन्धमा आबद्ध भइसकेका छन्।





Comments

comments

135076