हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गए राति भिषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन र कच्चा पदार्थ राख्ने गोदाममा अचानक विद्युत् सर्ट भएर आगो सल्किएको हो। आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण तयारी सामान, कच्चा पदार्थ र प्याकिङका सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार मध्यरातमा सुरु भएको आगोले गोदाममा रहेका कुनै पनि सामान जोगाउन सकिएको छैन। क्षतिको विस्तृत विवरण संकलन भइरहेको भए पनि प्रारम्भिक अनुमानअनुसार करिब १० देखि १२ करोड रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ। रातिको समयमा आगो लागेकाले तत्काल नियन्त्रणको प्रयास गर्दागर्दै पनि ठुलो क्षति हुन पुगेको व्यवस्थापक बुढाथोकीले बताए।


