मैनाली परिवारबाट ३१ हजार १ सय डलर आर्थिक सहयोग

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। नेपाली भाषी समुदायको आस्थाको धरोहर नेपाली साँस्कृतिक केन्द्र नेपाली घरलाई कोलोराडो स्थित डेनभर निवासी मैनाली परिवारले ३१ हजार १ सय डलर आर्थिक सहयोग प्रदान गरेका छन्।

उच्च विचार, सदाचार र सामाजिक उत्तरदायित्वका प्रतीक प्रेम मैनाली तथा उहाँकी धर्मपत्नी रन्जु शर्माले नेपाली घरका पदाधिकारीहरूलाई घरमै बोलाएर नेपाली घरको दीर्घकालीन उन्नति, स्थायित्व र प्रगतिका लागि भन्दै गत वर्ष उनले २ हजार ४ सय डलर सहयोग गरेका थिए। मैनालीले १२ हजार डलरको चेक हस्तान्तरण गरी बाँकी १६ हजार ७ सय डलर छिट्टै उपलब्ध गराई सहयोग रकम ३१ हजार १ सय डलर पुर्‍याउने प्रतिबद्धता गरेका हुन्।

यस योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली समुदायप्रतिको गहिरो माया, सामाजिक सेवाप्रतिको दृढ प्रतिबद्धता र भावी पुस्ताका लागि सुरक्षित, समुन्नत तथा सशक्त नेपाली घर निर्माण गर्ने उहाँहरूको दूरदर्शी सोच र उदार भावनाको जीवित प्रतिबिम्ब पनि हो भन्दै नेपाली घरले आफ्नो फेसबुक वालबाट दाता परिवारप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिएको छ।

नेपाली घर आज जुन स्थानमा उभिन सफल भएको छ, त्यसको मूल आधार आदरणीय प्रेम मैनाली परिवारजस्ता सहयोगी, दयालु र समाजप्रेमी व्यक्तित्वहरूको निःस्वार्थ योगदान, प्रेरणा र निरन्तर सद्भाव नै हो। यस महान् सहयोगले नेपाली घरलाई अझ सुदृढ, आत्मनिर्भर र प्रभावकारी संस्थाको रूपमा अगाडि बढ्न थप ऊर्जा र हौसला प्रदान गरेको उल्लेख गरेको छ।

कोलोराडोवासी नेपाली समुदायका लागि साझा घर, भाषा, संस्कृति, पहिचान र भावनात्मक सम्बन्धको केन्द्रका रूपमा नेपाली घरलाई अझ मजबुत बनाउने यस अनुपम योगदानका लागि आदरणीय प्रेम मैनाली परिवारप्रति नेपाली घर पुनः एकपटक अन्तरआत्मादेखि नै धन्यवाद दिँदै उच्च सम्मान तथा गहिरो कृतज्ञता व्यक्त गर्दछ भनिएको छ।

अन्तमा यस महायज्ञलाई सफल बनाउन थप परोपकारी दाताहरू जुट्दै जानुहुने छ भन्ने आशा तथा विश्वास रहेको नेपाली घरले जनाएको छ।





Comments

comments

135282