पोखरा, सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको छ।
प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गरे । उनले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताए । ‘हाम्रो देशले एक खालको स्ट्रगल गरिरहेको अवस्थामा सबै स्ट्रगलबाट मुक्त भएर हामीले गरिरहेको खेलकुदको फोटो प्रदर्शनी समृद्धिको संकेत हो,’ उनले भने, ‘यो काम अन्त्यन्तै सह्रानीय कार्य हो । यस्तो काम मैले अरु ठाउँमा देखेको छैन।’
प्रदर्शनीमा आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेरे १ सय वटा फोटो प्रदर्शनी गरिएको नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले बताए । आहाराराको २५ वर्षे इतिहास, सङ्घर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत् जनसमक्ष प्रस्तुत गरिएको हो । ५० भन्दा बढि फोटोमा फटबल मैदान भित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको फुटबल संस्कृतिलाई प्रस्तुत गरिएको छ।
पोखरा महानगरपालिका वडाध्यक्ष दीपेन्द्र मर्सानीले फोटोमा देखिने हरेक विषयवस्तु सत्य हुने भएकाले पत्रकातिरामा फोटोको महत्वपूर्ण भूमिका हुने बताए । उनले नेपाल फोटो पत्रकार संघ, कास्की हरेक क्रियाकलापमा आफूले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए।
नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्न प्रदर्शनीले सहयोग गर्ने सहारा क्बल पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । यसले पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न समेत योगदान पुर्याउने अपेक्षा गरिएको उनले सुनाए।
नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष माधव बरालले २५ वर्षको इतिहासमा कुनै पनि वर्ष नछुटाइ आयोजना हुनेले निरन्तरताको गतिलो सन्देश गएको बताए । ‘देशमा ठूला घटना र परिवेश आयो । ६२/६३ को आन्दोलन, ७२ को भूकम्प र कोरोना महामारीको समयमा पनि आहारारा गोल्डकप रोकिएन,’ उनले भने, ‘प्रतियोगिताले अहिले २५ वर्षमा लागेको छ । अझै सयौं सयौं वर्ष सञ्चालन भइरहोस शुभकामना ।’ उनले प्रतियोगितालाई पत्रकारले प्रचारप्रसारमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाए।
२०५८ सालमा क्याराभान कोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको हो भने आहा रारा गोल्ड कपको २५ औँ संस्करण माघ २७ गतेबाट पोखरा रंगशालामा सुरु हुँदैछ । यो पटक ३ विदेशी, एडिभिजन क्लब, विभागीय, आयोजकसहित १२ टिमको सहभागिता रहनेछ।
प्रदर्शनीमा राखिएको फोटोहरु आहारारा पोखरा गोल्डकपको दौरान माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए । शुक्रबार प्रदर्शनीमा छुटेकाहरुले प्रतियोगिता अवधिभर अवलोकन गर्न सक्ने उनले बताए।


