हङकङको जोर्डन रोडमा पाकिस्तानी युवकको हत्यामा ३ जना दोषी ठहर..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ७ फेब्रुअरी। हङकङको जोर्डन रोडमा तीन वर्षअघि भएको क्रूर छुरा प्रहार घटनामा हाई कोर्टले फैसला सुनाएको छ।

सात सदस्यीय जूरीले बहुमत मतका आधारमा एक अभियुक्त सिंह गुरप्रितलाई हत्याको अभियोगमा शुक्रबार दोषी ठहर गरेको छ। अन्य दुई अभियुक्त सिंह हरविन्दर र सिंह गुरजिन्दरलाई हत्याबाट सफाइ दिइए पनि मानसिक हत्या (manslaughter) मा दोषी पाइएको छ।

चौथो अभियुक्त शिंगारी धीरजलाई भने हत्या र मानसिक हत्या दुवै अभियोगबाट पूर्ण रूपमा निर्दोष ठहर गरिएको छ।

मृतक ३५ वर्षीय पाकिस्तानी नागरिक फैजान अलीलाई सन् २०२२ अगस्ट २९ को बिहान करिब ४ बजे न्यू लकी हाउसबाट निस्किएपछि पाँच जना मास्क लगाएका हमलावरहरूले जोर्डन रोड र पार्केस स्ट्रीटको जंक्शनमा छुरा प्रहार गरेका थिए।

उनलाई अस्पताल लगिए पनि धेरै छुरा घाउबाट अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको थियो। उनको शरीरमा कोकेन र मेथाम्फेटामाइन पनि पाइएको थियो।

प्रहरी र अभियोजन पक्षका अनुसार सीसीटीभी फुटेजमा गुरप्रितलाई हमलामा संलग्न देखिएको छ। हरविन्दर र गुरजिन्दरले मोटरसाइकल तथा निजी कार प्रयोग गरी हमलावरहरूलाई घटनास्थलमा पुर्‍याउने र फिर्ता लैजाने भूमिका खेलेका थिए। धीरजले भने पीडितलाई फोन गरी भेटघाटको योजना बनाएको आरोप थियो।

घटनास्थलबाट स्पोर्ट्स ब्याग र फुटेको काँच बरामद भएको थियो भने नजिकैको निर्माणस्थलको छतबाट चार वटा छुरा बरामद गरिएको थियो—तीमध्ये एकमा पीडितको डीएनए भेटिएको छ। गुरजिन्दरको डीएनए भने सम्बन्धित गाडीमा पाइएको थियो।

सोही दिन बिहान गुरप्रितले चुङकिङ मेन्सन्समा पिउँदै गर्दा अज्ञात व्यक्तिबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

यो मुद्दाको सजाय सुनुवाइ अब आगामी बिहीबार हुने भएको छ।





Comments

comments

135479