२१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेलाई आफ्नो जीवनमा दुई पटक पुनर्जीवन प्राप्त गरेको दिनको रूपमा उल्लेख गरेका छन्।
सोशल मिडिया फेसबुकमार्फत उनले लेखेका छन्, ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’
फागुन २१ गते नै २०२६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध संघर्षरत क्रान्तिकारीहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा झापाको सुखानीमा हत्या गरिएको थियो।
यो दिनलाई सुखानी शहीद दिवसको रूपमा मनाइन्छ, जसले ओलीको राजनीतिक जीवनको प्रारम्भिक संघर्ष र क्रान्तिकारी यात्रासँग जोडिन्छ।
ठीक ६ वर्षअघि (२०७६ फागुन २१ मा) ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक भएको थियो। यसले उनलाई गम्भीर स्वास्थ्य संकटबाट मुक्ति दिएको थियो, जसलाई उनले ‘मृत्युबाट पुनर्जीवन’ को रूपमा व्याख्या गरेका छन्।
ओलीले यो दिनलाई आफ्नो व्यक्तिगत स्वास्थ्य र राजनीतिक जीवन दुवैको संयोगपूर्ण तथा अविष्मरणीय दिन मानेका छन्। यो टिप्पणी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको दिन परेको सन्दर्भमा आएको हो।


