काठमाडौं, फागुन २१, २०८२ – छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ।
निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७:०० बजेदेखि सुरु भएको मतदान साँझ ५:०० बजे सम्पन्न भएको हो।
आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले मत दिने समय साँझ ५:०० बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेर मत दिन बाँकी मतदाताले त्यसपछि पनि मतदान गर्न सक्ने बताइन्।
आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रुपमा स्थगनको घोषणा भएको छैन।
सर्लाही र रौतहटमा केहीबेर विवाद भएको थियो भने दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा केहीबेर मतदान स्थगनपछि अहिले पनि मतदान जारी छ।
मतदानको विस्तृत विवरणबारे आज साँझ ६:१५ बजे आयोगले पत्रकार सम्मेलन गरेर जानकारी गराउने जनाएको छ।


