महजात्रासंगै मदनकृष्ण र हरिबंशसंग कोलोराडोमा दशैंको शुभकामना साटासाट

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। नेपाली हास्य जगतका महानायकद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य बिशेष उपस्थितिमा कोलोराडोमा महजात्रा कार्यक्रम सफलताका साथ सम्पन्न भयो।

नेपालीहरुको साझा संस्था नेपाली घर र रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको महजात्रामा नेपालीहरुले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलगायतका हास्य कलाकारहरुसंग बडादशैंको शुभकामना आदान प्रदान गरेका हुन्।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश बिश्व भरि फैल्याउन टेलिभिजनमा ६२ घण्टा भन्दा बढि टक सो प्रोगाम चलाएर बिश्व किर्तीमान राख्न सफल रबि लामिछानेको संयोजनमा तथा प्रस्तुतीमा सम्पन्न कार्यक्रममा शिबहरी पौडेल(मुखमा हान्नु जस्तो) किरण केसी (राता मकै) बसुन्धरा भुषाल, यमन श्रेष्ट, मोहित आचार्यलगायत स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथि कलाकारलगायत उपस्थित सबैलाई स्वागत गर्दै नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले नेपालीहरुको भाषा, संस्कृति, रितीरिवाज, तथा भेषभूषाको संरक्षण, सम्बर्धन र पहिचान गराउन एउटा संस्कृति केन्द्र नेपालीघर निमार्णको सहयोगार्थ महजात्राको आयोजना गरिएको बताए। फ्रेडल ब्लुवर्ड स्थित कोलोराडो हाईट बिश्वविद्यालयको बिशालहलमा आयोजना भएको कार्यक्रममा ८ सय भन्दा बढि नेपालीको उपस्थिति रहेको थियो।

देश भक्तिको संगीत र नृत्यबाट सुरु गरिएको कार्यक्रममा स्थानीय बालकलाकारहरुको शानदार प्रस्तुतीपछि हास्यकलाकारहरुको प्रस्तुती सुरु भएको थियो। झण्डै ३ घण्टासम्म संचालन भएको हास्य ब्यङ्ग्य कार्यक्रममा अधिकांश कलाकारहरुले नेपालको बर्तमान स्थिति र नेताहरुको क्रियाकलापप्रति तिखो ब्यङ्ग्य प्रस्तुत गरेका थिए। मदन कृष्ण हरिबंशको बाहुन बहादुर र नेवार बहादुर, सब्दान्छेरी, शिबहरी पौडेल, किरण केसी मानव खप्पर, यमन श्रेष्ठको भन्ने दिन कहिले आउला भन्ने गीत ज्यादै उल्लेखनीय थियो। कार्यक्रमको सुरुदेखि अन्त्यसम्म दर्शकहरुको ताली र वाह वाह पाएका कलाकारहरुले दर्शकहरुलाई पेट मिचीमिची हसाउंन सफल भएका थिए।

टिकट दर २५ र ५० डलर रहेको उक्त जात्रा शनिबारका सांझ ७ बजेदेखि साढे दस बजेसम्म सञ्चालन भएको थियो। हास्य क्षेत्रका महान हस्तीहरु एकै ठाउमा भेलाभई आयोजना गरिएको यस कार्यक्रम कोलोराडोको इतिहासमा पहिलो र बिशेष रहेको बताईन्छ। नेपालीहरुको हक हितका लागि कोलोराडोमा सकृय रहेका नेपालीघर र रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको बिशेष अग्रसरतामा सम्पन्न महजात्राबाट संकलित रकम नेपालीहरुको हक हित र नेपालीहरुको पहिचाहनको लागि खर्च गरिने रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यले बताए।

कार्यक्रमको अन्त्यमा मदनकृष्ण, हरिबंश, किरण केसी, शिबहरी पौडेल, बसुन्धरा भुषाल लगायत सबै अतिथि कलाकारहरुलाई नेपाली घर र रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका पदाधिकारीहरुले खादा ओडाएर सम्मान गरेका थिए।

अमेरिका र क्यानडामा गरि ३१ स्थानमा प्रदर्शन गरिने कार्यक्रम झण्डै ३ महिनासम्म सचालन हुने बताईएको छ। अतिथि कलाकारहरुको प्रस्तुतीको फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न प्रतिबन्ध लगाईएको थियो।





Comments

comments

1375