काठमाडौं, ३० फागुन। लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको ग्याप, आत्मविश्वासको कमी रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं अधिवेशन तथा ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन ‘रोडम्याप टु इन्भेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’ मा प्रमुख वक्ताका रूपमा बोल्दै ज्ञवालीले अब दुई तिहाइ सरकार आउन लागेकाले आत्मविश्वास कायम गर्न एकसाथ लाग्नुपर्ने बताए। अब पनि अलमलको अवस्थामा रहने छुट नभएको भन्दै उनले सेबोन र अन्य ऐनहरूको हकमा अगाडि बढ्न जरुरी रहेको बताए। यसमा लगानी बोर्डले सघाउने उनले प्रतिबद्धता जनाए। नीतिगत सुधारका लागि केही नेपाल ऐन संशोधनमार्फत जान सकिने र प्रवासी नेपाली र सरकारी निकायबीच घनिष्ठ छलफल जरुरी रहेको बताए। आइपीओमा अड्किएको विषयमा गहिरो छलफल गरी निकास निकाल्नुपर्ने र लगानी बोर्डले सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए।
गैरआवासीय नेपाली ऐनलगायत ऐनहरू संशोधन नहुँदा समस्या भएको, संविधानले बोलेपछि कार्यान्वयन गर्नुपर्नेमा सम्पत्ति किन्न नपाएको, के कारणले डर सिर्जना भएको हो त्यसमा छलफल गरी क्लियर गर्नुपर्ने बताए। ‘१४ वटा निकायमा लगानी हेर्ने फोकल पर्सन तोकिदिएका छौं। अब सहजीकरण हुनेछ,’ उनले भने। दुईतिहाइ सरकार गठन भइसकेपछि लगानीको वातावरण बन्ने एक वर्षमा १० खर्ब पैसा आउनसक्ने ठाउँमा पुर्याउन सक्ने आत्मविश्वास विकास भएको बताए। अब आर्थिक, जनशक्ति र कानुनी रूपमा तयारी गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। ‘तपाईंसँग भएको आइडिया, पुँजी, प्रविधि लगानी बोर्डमा प्रस्ताव गर्नुस्। हामी अगाडि बढाउन तयार छौं। हामी एनआरएनएसँग एमओयु नै गरेर जाने सोचेका छौं,’ उनले भने।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा कसरी जोड्न सकिन्छ भन्ने मुख्य विषय भएको बताए। समृद्धिमा साझेदार, लगानीको प्रणालीमा कसरी सामेल हुने भन्दा लगानी भावनात्मक सम्बन्धले नहुने बताए। भावनात्मक सम्बन्धभन्दा पनि सुरक्षित वातावरण, बजार चाहिने बताए। लगानी अभिवृद्धि गर्न पहिलो नेपालप्रति आशा, भरोसा र विश्वासको वातावरण कायम गराउनुपर्ने बताए। यसका लागि भ्रष्टाचार सूचकमा सुधार आउनुपर्ने र नयाँ सरकारबाट हुने उनको भनाइ थियो।
दोस्रो, नयाँ सरकारले एनआरएनलाई विशेष सुविधा र छुटसहित लगानीका लागि आह्वान गर्नुपर्ने बताए। चीन र भारतको सुरुवाती दिनमा एनआरएनलाई नै आह्वान गरेर विकास र समृद्धि हासिल गरेको स्मरण गर्दै प्रवासी नेपालीको व्यवसायिकता, सीप, ज्ञान जरुरी भएको बताए। आइटी पार्क, औद्योगिक निर्यातमा जोड्नुपर्ने बताए।
तेस्रो, सार्वजनिक, निजी क्षेत्र र प्रवासी नेपालीबीच विकास साझेदारी गर्ने। वैदेशिक रोजगार बचत पत्र ठूलो रकमको निष्कासन नयाँ सरकारले गर्ने भन्दै त्यसमा लगानी गर्न सकिने बताए। यसैगरी खास खास परियोजनाका लागि प्रोजेक्ट बन्ड लिंकको तर्जुमा गरेर लगानीको आह्वान गर्ने र प्रतिफलमूलक आयोजना भएपछि लगानी सुनिश्चित हुने उनको भनाइ थियो। यस्ता सम्मेलनमा लगानीका लागि सो केस हुने खालको प्रस्तुति गर्न उनले एनआरएनएलाई सुझाव दिए। समृद्धि हासिल गर्ने मार्गचित्रसहित देश अगाडि बढ्दा लगानी गर्ने क्षमता र दक्षता चाहिने भन्दै एनआरएनएको ठूलो भूमिका हुने बताए।
सेबोनका रुपेश केसीले एनआरएन डेभलपमेन्ट फन्डबारे ब्रिफिङ गरेका थिए। उनले धितोपत्र बोर्डमा गैरआवासीय नेपालीको सहभागिताका जटिलता र गर्नुपर्ने कानुनी सुधारबारे जानकारी गराएका थिए। मुख्य मुद्दा नै ऐन संशोधन रहेको र अब स्थायी सरकारबाट आशावादी हुने ठाउँ रहेको बताए।
ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन ‘रोडम्याप टु इन्भेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’ मा चेम्बर अफ कमर्सका तर्फबाट आफ्नो धारणा राख्दै उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिए। उनले गैरआवासीय लगानीका लागि संस्थागत संयन्त्र आवश्यक भएको बताए। नवीन वित्तीय कोष, रणनीतिक लगानी क्षेत्र, पर्यटन तथा आतिथ्य उद्योग, ज्ञान हस्तान्तरण र उद्यमशीलतामा जोड दिए। उनले रुपान्तरणमा निजी क्षेत्रको ठूलो भूमिका रहेको बताए। प्रवासी नेपाली र स्वदेशी उद्यमीबीच सहकार्य गर्न चेम्बर तयार रहेको उनको भनाइ थियो। ‘नयाँ सरकार आएको छ। देश अब स्थायित्व आएको छ। दुई तिहाइ मेजोरिटीको सरकार छ। स्थायित्व हुन्छ। अब एकद्वार प्रणाली नीति हुनुपर्छ। सरलीकृत गर्नुपर्नेछ। हामी मिलेर काम गर्न चाहन्छौं,’ उनले भने।
हेमराज ढकालले नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको लगानी महत्त्वपूर्ण भन्दै राज्यले वातावरण बनाउनुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको बताए। लगानी भित्र्याउने नीतिगत सुधारहरू गर्न निजी क्षेत्रले प्रवासी नेपालीसँग हातेमालो गर्न तयार रहेको बताए। ‘यहाँहरूले गरेको व्यवसायको केही अंश नेपालको सम्भावना भएको ठाउँमा लगानी गरिदिनुस्। जलविद्युत, पर्यटन, प्रविधिमा ठूलो सम्भावना छ। सहकार्य गरौं,’ उनले भने। एकता गरेर एउटा संस्था बनाएको र अध्यक्ष सर्वसम्मत बनाएकोमा बधाई दिँदै फुटेर होइन जुटेर अगाडि बढ्न अनुरोध गर्दै नेपालमा भएको सम्भावनामा संयुक्त रूपमा काम गर्न अपिल गरे।
नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन) को लगानी अपरिहार्य रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सन् २०२६ मा नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने हुँदा देश विकासका लागि डायस्पोराको लगानी आवश्यक रहेको बताएका हुन्। उपाध्यक्ष ढकालले युवाहरू विदेशिने क्रमलाई ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) का रूपमा मात्र नहेरी ज्ञान र पुँजी निर्माणको अवसरका रूपमा लिनुपर्ने बताए।
एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले देशका लागि भन्दा आफ्नो भावी सन्ततिको लागि भनेर लगानी गर्न सुझाव दिए। सन्ततिलाई एनआरएनएसँग जोड्न उनले आग्रह गरे। व्यवसायीहरूलाई एक अर्काको कुरा नकाट्न अनुरोध गर्दै यसले कर्मचारीतन्त्र र राजनीतिक दलले हेप्ने गरेको सुनाए। गैरआवासीय नेपालीहरूको लगानी पैसामा मात्र नभई सीप, प्रविधि, ज्ञान आउने उनले बताए। उनले संविधान निर्माण भएको १० वर्ष वित्दा अझै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन नभएकोमा आक्रोश पोखे। संविधान र ऐनभन्दा नियमावली बनाइदिन र नियमावलीमा प्रष्ट लेखिदिएर गैरआवासीय नेपालीलाई काम गर्न दिन अनुरोध गरे। ‘जो काम गर्न चाहन्छन् तिनीहरूलाई आदर सत्कारका साथ गर्न दिनुस्,’ उनले भने। महतोले नेपालको विकास संस्कृति, संस्कार सभ्यतासहितको विकास चाहिएको बताए। नेपालमा समस्या रहे पनि लगानी गर्न गैरआवासीय नेपालीलाई अपिल गरे।
एनआरएनएका पूर्वअध्यक्ष आरके शर्मा लगानीमा डाइभर्ट गर्न नसकेको पैसा रेमिट्यान्स भएको र यो अनुत्पादक क्षेत्रमा गएको बताए। रेमिट्यान्सलाई उत्पादनमा जोड्न अर्थ शिक्षाको पनि अभाव रहेको भन्दै वार्षिक २ खर्बको रेमिट्यान्सलाई उत्पादनमा जोड्न सकिने उनले बताए।
एनआरएनए र उद्योग वाणिज्य महासंघ मिलेर ग्यास विस्थापित गर्न सकिने बताए। अर्को सीप सिकेको नेपालीलाई स्वरोजगारको ठूलो सम्भावना बोकेको बताए। १० देखि १५ हजार मेगावाट बिजुली खपत हुने डाटा सेन्टर राख्दा धेरै ठूलो अर्थतन्त्रमा टेवा पुग्ने बताए। यी तीनवटै क्षेत्रलाई हेर्न सकियो भने समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने भन्दै उनले नयाँ सरकारले कानुन संशोधनमार्फत लगानीमैत्री वातावरण बनाउनेमा आशा व्यक्त गरे।
उपाध्यक्ष रोविनप्रसाद शेरचनले संस्थालाई एक ठाउँमा ल्याउन आफू अध्यक्षको उम्मेदवारीबाट फिर्ता भएको बताए। ‘नेपालसँग जोडिन चाहन्छौं। तर वातावरण चाहिन्छ। हामीले बुझेका छौं। लगानीमा सहयोग गर्नेछौं,’ उनले भने।
उपाध्यक्ष अर्जुन श्रेष्ठले सडक, पूर्वाधार, पर्यटन, कृषिमा लगानी गर्न उत्साहित रहेको तर वातावरण बनाउनुपर्ने बताए। सचिव डा. ज्ञानेन्द्र रेग्मीले लगानीका लागि नीतिगत सुधारहरू जरुरी रहेको बताए। धितोपत्र बोर्डमा शेयरमा जोडिन खोजे पनि नपाएको गुनासो गरे।
समारोहमा भुवन खरेलले पाँच मिनेटको गुल्मीको कफी खेती परियोजनाको सो केस गरेका थिए। समारोहमा वक्तालाई मायाको चिनो प्रदान गरिएको थियो।


