काठमाडौं, ३० फागुन। वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले संस्कृतिको विकास पुस्तापुस्तामा हस्तान्तरणबाट हुने र त्यहीबाट संरक्षण हुने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अधिवेशन तथा विश्व सम्मेलनको ‘दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व (सेकेन्ड जेनेरेसन युथ एन्ड कल्चरल रेस्पोन्सिबिलिटी)’ सत्रमा मुख्य वक्ताका रूपमा बोल्दै गुरुङले प्रवासमा रहेका नेपालीको दोस्रो पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न सरोकारवाला सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए।
संस्कृति अस्तित्वसँग जोडिने भन्दै त्यो श्वास भएको बताए। संस्कृति बिर्सियो भने पहिचान नै नरहने उनको भनाइ थियो। नेपालको संस्कृतिलाई अप्ठ्यारो पर्दा युवाहरूले नै जोगाएको इतिहास उनले सुनाए। गुरुङले नेपाली संस्कृतिको प्रवर्द्धनका लागि दूतावासहरूले पनि अभियान चलाउनुपर्ने, गैरआवासीय नेपाली संघले पनि आफ्ना पीढीलाई प्रशिक्षण दिनुपर्ने बताए। आफ्नो पीढीलाई संस्कृतिप्रति जानकार गराउनुपर्नेमा जोड दिए। नेपालको विकास कसरी भयो भन्ने जानकारी गराउनुपर्छ। ‘नेपाल सरकार, संस्कृति मन्त्रालय, दूतावासले व्याख्या गर्ने, पुराना पुस्ताले भन्ने, नयाँ पुस्ताले नेपालदेखि अमेरिकासम्म सारा विश्वमा फैलाउने, यति भएपछि संस्कृति बाँच्छ,’ उनले भने।
संस्कृतिविद् प्रा. डा. वीणा पौडेलले दोस्रो पुस्तालाई नेपालसँग जोड्न के गर्ने, विदेशमा रहेका नेपालीलाई संस्कृति हस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने प्रश्नमा प्रवासमा रहेका दोस्रो पुस्ताका युवाहरू अघोषित राजदूतहरू रहेको बताइन्। देशमा ठूलो परिवर्तन पुस्तान्तरणकै कारण भएको भन्दै संस्कृतिको हकमा पनि नवपुस्तालाई पुस्तान्तरण नै भएको बताइन्। चाडपर्वदेखि अन्य संस्कारका कुरा युवा पुस्तालाई बुझायो भने संस्कृति जीवित रहने, अन्यथा सकिने बताइन्। ‘संस्कृति जीवित राख्न भाषा र कलाको ठूलो भूमिका हुन्छ। अमूर्त सम्पत्तिहरू पनि युवाहरूलाई बुझाउनुपर्छ,’ उनले भनिन्।
नेपालका मौलिक चाडपर्व विदेशमा बढी मनाइने गरेको भन्दै उनले आफ्ना नातिनातिनालाई लोककथा सुनाउने कुरालाई अब डिजिटाइज गर्नुपर्ने बताइन्। ‘संस्कृति हाम्रो जरा हो। जरा जति बलियो, रुख त्यति ठूलो, रुख जति ठूलो, छहारी त्यति नै फराकिलो, त्यसैले जरालाई मलजल गरौं,’ उनले भनिन्। उनले अपनत्वको भावना युवाहरूमा पुर्याउन नसकिएको भन्दै यसले संस्कृति क्षयीकरण भइरहेको बताइन्। संस्कृति पहिचानका लागि पनि सम्पदाबारे जानकार हुनुपर्ने र यसमा परिवार, समाज र राष्ट्रले योगदान गर्नुपर्ने बताइन्।
नेपाल पर्यटन बोर्डका सीईओ दीपराज जोशीले दोस्रो पुस्ताले आफ्नो हजुरबा/हजुरआमाबाट कथा सुनेको तर मातृभूमि नआएको भन्दै उनीहरू आएर बुझ्दा सांस्कृतिक आदानप्रदान हुने र पर्यटनलाई पनि सहयोग पुग्ने बताए। माउन्टेनिङ मात्र होइन, कल्चरल, हेरिटेज, फुडमा फोकस गरिरहेको बताए। पर्यटनले संस्कृतिमा पनि प्रभाव पार्ने उनको भनाइ थियो।
एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले म्यानमारमा पाँचौँ पुस्तासम्म दुरुस्तै भाषा संस्कृति पुस्तान्तरण भएको तर युरोपेली देशमा त्यसो गर्न नसकिएको भन्दै विविध किसिमले सकेसम्म नेपाल चिनाउन लागिरहेको बताए। नेपाल सरकारले विदेशमा पढेका नेपाली युवाहरूलाई फर्काउने गरी सोच्नुपर्ने बताए। तर नागरिकताको समस्याले निरुत्साहित हुने गरेको सुनाए।
दोस्रो पुस्तालाई कनेक्ट गर्ने युथ कोर्डिनेटर तोक्ने, प्रवासी नेपालीका बच्चालाई एक महिनाको कार्यक्रम बनाएर नेपाल पठाउने, यसमा एक हप्ता बाबुआमासँग, एक हप्ता मन्दिर, एक हप्ता आफ्नो विज्ञता भएको काम र एक हप्ता फ्री छोडिदिने गरी बताए। ‘अर्को, दोस्रो पुस्ता जोड्ने स्पोर्ट्स पनि हो। एनआरएनए लिग सबै देशमा गराउन सकियो भने यहाँको राष्ट्रिय लिगमा सहभागी गराउने। नागरिकताको व्यवस्था भयो भने त्यहीबाट राष्ट्रिय टिममा सहभागी हुनसक्छ,’ उनले भने।
एनआरएनएले नेपाली भाषा पढाउन डिजिटल कोर्स बनाउने योजना उनले सुनाए। यी विविध विषयहरू मार्फत पुस्ता जोड्ने उनको भनाइ छ।
बुद्ध छिरिङ मोक्तानले संस्कृतिको पूर्वावस्था प्रकृति भएको बताए। अध्यात्म सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। भाषा संस्कृतिको ठूलो माध्यम भएको उनको भनाइ छ। एनआरएनले दोस्रो पुस्तालाई संस्कृतिसँग जोड्न थालेको अभियान प्रशंसनीय भएको बताए।
ब्रेन गेन सेन्टरका लक्ष्मण बिस्टले संस्कृति र अहिलेको संसारको प्रविधि सँगै अगाडि बढाउन सकिन्छ कि छैन भन्ने प्रश्न अहम् बनेको र युवाहरूले दुवैलाई सन्तुलित रूपमा अगाडि बढाइरहेको बताए। ‘संस्कृति बाधक होइन, निकास हो,’ उनले भने, ‘आवरणात्मक, अनुशरणात्मक, कल्चरल ओलम्पियाड, ज्ञानमा आधारित कल्चर क्लास, योग, ध्यान रूपान्तरणको विधि हुनसक्छन्।’
दोस्रो पुस्ताकी बेलायत निवासी समीरा केसीले आफ्नो पुस्ताले नेपाललाई माया गर्ने गरेको र सांस्कृतिक रूपमा नजिक रहेको बताइन्। उनले आफू भौतिक टाढा भए पनि पहिचान, संस्कृति र सम्पदाले मातृभूमिसँग जोडिएको बताइन्। ‘नेपालीको रूपमा भावनात्मक सम्बन्ध छ। तर भौतिक रूपमा टाढा छु। भौतिक रूपमा टाढा भए पनि सांस्कृतिक रूपमा नजिक छु। भाषा नै संस्कृतिको परिचय हो। हाम्रो पुस्ता नेपाललाई माया गर्छ। संस्कृतिक, सम्पदा, भाषासँग जानकार छ। विभिन्न माध्यमबाट मातृभूमिसँग जोडिरहेका छौं,’ उनले भनिन्।
हङकङकी दिपमाला ढकालले विभिन्न बाध्यताले आफ्नो मातृभूमिबाट टाढा बसे पनि संस्कृतिबाट टाढा नभएको बताइन्। संस्कृति नै पहिचान भन्दै युवाहरूको दायित्व संस्कृति र मूल्य मान्यता बुझ्नु र फैलाउनु भएको बताइन्। यसका लागि एनआरएनएसँग कनेक्ट भएर अगाडि बढ्न सकिने बताइन्।
सत्रको सञ्चालन परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले गरेका थिए।


