एनएलडिसी पुरस्कार हरिशरण लामीछाने, गुञ्जदाश श्रेष्ठ र सन्तोषी सिंहलाई

कोमल मल्ल –
नेपाली साहित्य विकास परिषद् यूकेले यस वर्षको एनएलडिसी पुरस्कार तीन जना सर्जकलाई प्रदान गर्ने भएको छ।

परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लद्वारा जारी विज्ञप्तिअनुसार, रेडियो नेपालका पूर्व वरिष्ठ समाचार वाचक तथा पत्रकार हरिशरण लामीछानेलाई ‘एनएलडिसी साहित्य सञ्चार-पुरस्कार’ दिइएको छ। उहाँलाई पाँच तोला शुद्ध चाँदी र स्वर्ण लिपिको पदकसहित नगद ५० हजार रूपैयाँ (वा पदक) प्रदान गरिएको छ।

यसैगरी, कोलकाता, भारतका साहित्यकार गुञ्जदाश श्रेष्ठ र कलाकार सन्तोषी सिंहलाई ‘एनएलडिसी नेपाली साहित्य-कला पुरस्कार’ दिइएको छ। उहाँहरूलाई पदकसहित नगद २० हजार रूपैयाँ (वा पदक) र परिषद्को मानार्थ आजीवन सदस्यता प्रदान गरिएको छ।

हरिशरण लामीछानेले तीन दशकभन्दा बढी रेडियो नेपालमा समाचार वाचकको रूपमा काम गर्नुभयो। उहाँ परिषद्को नेपाल च्याप्टरमा पनि तीन कार्यकाल महासचिव र सल्लाहकार रहिसक्नुभएको छ। गुञ्जदाश श्रेष्ठ र सन्तोषी सिंहले कोलकातामा नेपाली साहित्य, गीतसङ्गीत र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

यो पुरस्कार यसअघि खगेन्द्र नेपाली, हरिसिंह थापा, नवीन पोखरेल, अभिमन्यु वैरागी, डम्वर सुव्वा र प्रमोद शर्मालाई प्रदान गरिएको थियो।

नेपाली भाषा, साहित्य, कला र सञ्चार क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान गर्न यो पुरस्कार सन् २०११ मा कोमल प्रसाद श्रेष्ठ मल्ल र कोहिनूर श्रेष्ठ मल्लद्वारा स्थापना गरिएको हो।

परिषद्को स्थापना सन् १९९५ मा सुरेशजङ्ग शाहद्वारा लन्डनमा भएको थियो। यसले विभिन्न १५ वटा पुरस्कार वितरण गर्दै आएको छ र साहित्यिक पुस्तक तथा ‘लालीगुराँस’ पत्रिका प्रकाशित गर्दै आएको छ। परिषद्को नेपाल च्याप्टर पनि सक्रिय छ।





Comments

comments

137795