काठमाडौँ । झपट पुरस्कार व्यवस्था समितिले यही चैत १४ गते एक समारोहका बीच चार जना स्रष्टालाई ४५औं झपट पुरस्कार प्रदान गरेको छ।
समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्र तथा पुरस्कार राशि हस्तान्तरण गरेका हुन्।
सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक–एक लाख रुपियाँ तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरियो।
आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत सनत रेग्मीलाई झपट पुरस्कार प्रदान गरियो भने शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत गीतकार जनरल राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरियो।
यसैगरी नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ संयुक्त रूपमा प्रदान गरियो।
पुरस्कृत स्रष्टाहरूको नाम इन्दिरा प्रसाईंको संयोजकत्वमा गठित प्रा.डा. हेमचन्द्र नेपाल र प्रा.डा. भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनौट समितिले सिफारिस गरेको थियो।
यसै कार्यक्रममा सदस्यसचिव रेखा राणाद्वारा लिखित ‘अनन्त कृतज्ञता’ (Endless Gratutude) नामक पुस्तकको पनि विमोचन गरियो । प्रा.डा. वासुदेव त्रिपाठीले सो पुस्तकको विमोचन गरेका हुन्।
कार्यक्रममा स्रष्टहरूका साथै साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।


