न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३१ मार्च। चिङ मा ब्रिजमा सोमबार राति एउटा बसले बिग्रिएर रोकिएको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार, यो दुर्घटना राति ११:१७ बजे विमानस्थलतर्फ जाने सडकको प्रवेशद्वार नजिकै भएको थियो।
एउटा ट्याक्सी सडकको ‘स्लो लेन’ मा बिग्रिएर रोकिएको अवस्थामा थियो। सोही समयमा आइरहेको लङ विन कम्पनीको E32A नम्बरको बसले समयमै ब्रेक लगाउन नसक्दा ट्याक्सीको पछाडिको भागमा जोरले ठक्कर दिएको थियो।
हङकङको समाचार माध्यम ‘The Standard’ का अनुसार ठक्करका कारण ट्याक्सी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र ट्याक्सी चालक तथा एक पुरुष यात्री भित्रै फसेका थिए।
उद्धारकर्मीहरूले उनीहरूलाई बाहिर निकालेर तत्काल यान चाई अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरे।
दुर्घटनास्थलमा ट्याक्सी चालक बेहोस अवस्थामा भेटिएका थिए। यसैबीच, बसमा सवार एक महिला यात्री सामान्य घाइते भएकी छिन्। उनलाई सचेत अवस्थामै उपचारका लागि अस्पताल लगिएको छ।
घटनास्थलमा ट्याक्सी यात्रीको एउटा सुटकेस सडकमा छरिएको अवस्थामा फेला परेको थियो।
लङ विन बस कम्पनीले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गरेको छ। कम्पनीले दुर्घटनामा संलग्न बस चालकलाई कामबाट निलम्बन गरेको छ र प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।


