मुम्बई, भारतीय सङ्गीत जगतकी दिग्गज पार्श्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
उनका छोरा आनन्द भोसलेले पुष्टि गर्दै भनेका छन्, “आज मेरी आमाको निधन भयो ।” उनको अन्तिम संस्कार भोलि दिउँसो ४ बजे मुम्बईको शिवाजी पार्कमा गरिने भएको छ।
आशा भोसलेलाई शनिबार साँझ अत्यधिक थकान र छातीको सङ्क्रमणका कारण मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अवस्थामा उनको निधन भएको हो।
उनकी नातिनी जना भोसलेले सामाजिक सञ्जालमा स्वास्थ्य अपडेट दिँदै परिवारको गोपनीयताको अनुरोध गरेकी थिइन्।
आशा भोसले (जन्म ८ सेप्टेम्बर १९३३) ले हिन्दी सिनेमा लगायत विभिन्न भारतीय भाषाका हजारौँ गीत गाएर अमिट छाप छोडेकी थिइन्।
उनको स्वरले ‘पिया तु अब तो आजा’, ‘दुम मारो दुम’, ‘चुरा लिया है तुमने जो दिल को’ जस्ता कालजयी गीतहरूमार्फत् लाखौँ श्रोताको मन जितेको थियो।
उनको निधनले भारतीय सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उनको परिवार, शुभचिन्तक तथा सङ्गीतप्रेमीहरूमा शोक छाएको छ।


