टुंग चुङ बस दुर्घटनामा चालकको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ अप्रिल। गए राति टंग चुङको सुङ जेन रोडमा एउटा गुडिरहेको सिटीबस अनियन्त्रित भई फुटपाथमा ठोक्किँदा चालकको मृत्यु भएको छ।

स्थानीय मिडिया एचके अन सीसीका अनुसार बिना यात्री गुडिरहेको उक्त दुईतले बस अचानक सडकबाट बाहिर गई बस स्टप र पैदलयात्री पुलको भित्तामा ठोक्किएको थियो।

४२ वर्षीय चालक वाङ बसभित्रै बेहोस अवस्थामा फेला परेका थिए। दुर्घटनाको ठूलो आवाज सुनेर नजिकैको बस डिपोका कर्मचारीहरू तुरुन्तै घटनास्थल पुगेर चालकलाई बचाउने प्रयास गरेका थिए।

उद्धार टोलीले उनलाई नर्थ लान्टाउ अस्पताल पुर्‍याए तापनि आज बिहान चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

सिटीबस कम्पनीले यस दुखद घटनाप्रति शोक व्यक्त गर्दै मृतकका परिवारलाई सहयोग गर्ने जनाएको छ र प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।





Comments

comments

138035