सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

फाइल तस्बिर

काठमाडौँ । सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ।

मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ।

मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न यो व्यवस्थाले जवाफदेही बनाउनेछ।

नयाँ नीतिअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेको कारण भएमा सम्बन्धित कर्मचारीले तत्काल आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्नेछ।

यो व्यवस्थालाई प्रभावकारी बनाउन सबै कर्मचारीसँग प्रतिवद्धतापत्रमा हस्ताक्षर गराई सोको सुनिश्चितता गराउने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्रोतसाधनको प्रयोगमा मितव्ययीता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ। रासस





Comments

comments

138089