नेपाली कामदारलाई १ करोड १२ लाख क्षतिपूर्ति

काठमाडौं— मलेसियामा दुर्घटनामा परी घाइते भएका पर्वत बाजुङका प्रेमबहादुर रेग्मीले तीन लाख ७२ हजार पाँच मलेसियन रिंगेट (करिब एक करोड १२ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन्।

क्याराभान म्यानपावरबाट सन् २०१० जुलाई ७ मा मलेसिया पुगेका रेग्मी जेसिवाई एचडिडी कम्पनीमा आउटसोर्स कामदारको रुपमा कार्यरत थिए। सन् २०१२ जुलाई १२ माकम्पनीको काम सकेर होस्टल फर्कने बेला बस दुर्घटनामा परेका थिए। दुर्घटनामा परेका रेग्मीको दाहिने खुट्टा काटिएको छ।

दुर्घटनामा परेको दुईवर्षपछि बस कम्पनीसँगको कानुनी लडाइँ जितेपछि रेग्मीले क्षतिपूर्ति पाएको आजको नागरिक दैनिकमा समाचार छ। उनले मलेसियाको बिमा कम्पनी जुरिचबाट १७ हजार पाँच रिंगेट (पाँच लाख १० हजार एक सय ५०) र बस कम्पनीसँगबाट तीन लाख ५५ हजार रिंगेट (एक करोड ६ लाख ५० हजार) रुपैयाँ क्षतिपूर्ति पाएका हुन्।

बिमा कम्पनीबाट विदेशी कामदार क्षतिपूर्ति योजनाअन्तर्गत रेग्मीले बिमा रकम पाएका हुन्। रेग्मीले बिमा रकम सन् २०१३ मार्च २० मा पाएका थिए। बस कम्पनीले क्षतिपूर्ति रकम समयमा नदिएपछि थप पाँच हजार रिंगेट हर्जाना भरेको थियो। बस कम्पनीलाई अदालतले दुई महिनाअघि नै क्षतिपूर्ति दिन भनेपनि एक महिना ढिलो गरी दिएको हो।

दुर्घटना भएपछि रेग्मी कार्यरत कम्पनी र मलेसियामा रहेका नेपाली व्यवसायीले बस कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । मलेसियाको जोहोरबारु अदालतले रेग्मीको पक्षमा फैसला सुनाउँदै क्षतिपूर्ति दिन निर्देशन दिएको थियो।





Comments

comments

1381