वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा आज एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत समर्पित श्री माधव खनाल ‘भावुक’ लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो।
समारोहमा इन्जिनियर गिरिले आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै कृत्रिम बौद्धिकतामा आधारित यन्त्रमानवको आविष्कार गरी अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक श्री मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्नुभयो।
यी दुवै पुरस्कारको राशि जनही एक-एक लाख रुपैयाँ रहेको छ।
सोही समारोहमा संस्थापक गिरिले आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका श्री धनराज गिरीलाई पचास हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो।
साथै किशोरावस्थादेखि नै समाजसेवामा सदैव जागरुक भई खासगरी काठमाडौँ महानगरपालिकाको विकासमा मन, वचन र कर्मले समर्पित श्री सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गरिएको छ।
यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा. गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो।
इन्जिनियर शङ्कर गिरीको प्रवल इच्छाअनुसार २०७९ साल वैशाख २० गते वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो।
वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरू, वानीरा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा. ऋषिराम शर्मा, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट वानीरा गिरीबारे मन्तव्य प्रकट भएको थियो।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
वानीरा फाउन्डेसन


