नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीव्र रूपमा अगाडि बढेको छ। शनिबार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी गराइएको छ।
आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले शनिबार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ सम्म सञ्चालन हुने जानकारी दिँदै सबैलाई सहभागी हुन अनुरोध गरेका छन्।
अनेसास अध्यक्ष वाग्लेले नेपाली भाषा, साहित्यको संरक्षण, सम्बर्धन र विश्वव्यापीकरणमा योगदान पुर्याउँदै आएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्न विभिन्न गतिविधि र कार्यक्रम गर्दै आएको बताए। उनले भने, “त्यसबाहेक अनेसासले सबै उमेर समूहका स्रष्टालाई एउटै थलोमा राखेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि चिन्तन र विमर्श गर्न दुई–दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ। यो सम्मेलन त्यही सोचको निरन्तरता हो।”
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी (बीओटी) का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि झन्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए। उनले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेस्टमिन्स्टरस्थित होटल डुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिए।
नेपाली र अंग्रेजी साहित्यका लेखकहरूको जमघट रहने सम्मेलनमा दुवै भाषाका स्रष्टाहरूबीच साहित्यका विविध विषयमा छलफल हुने बीओटी सभापति विश्वकर्माले बताए। उनले सम्मेलनमा नेपालभित्र रहेका विभिन्न भेग र भाषाका स्रष्टाहरूको समेत सहभागिता रहने बताए।
“नेपाली भाषा र साहित्यसँगै विभिन्न जाति र समुदायको मातृभाषाप्रति हाम्रो उच्च सम्मान छ। तिनको संरक्षण र विश्वव्यापीकरणमा अनेसासले जोड दिँदै आएको छ,” उनले भने, “भाषिक विविधता र त्यही विविधतामा हुर्किएको हाम्रो नेपाली समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महसुस गर्न पाइनेछ।”
उनले २००९ मा सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौं श्रृंखला अमेरिकाको कोलोराडोमा आयोजना गर्न लागिएको बताए। दुई वर्षमा आयोजना गरिने सम्मेलनको आठौं श्रृंखला दुई वर्षअघि युरोपको पोर्चुगलमा सम्पन्न भएको उनले जानकारी दिए।
अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झन्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकारहरू सहभागी हुने अनुमान गरिएको बताए। सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरूलाई आमन्त्रण गरिएको जानकारी दिँदै थुप्रै साहित्यकारहरूले सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले सुनाए।
“सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र चर्चा गरिने छैन, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा समेत चर्चा गरिनेछ,” उनले भने, “जसले युवा पुस्तालाई उत्कृष्ट साहित्यिक कृति सृजनाका लागि उत्प्रेरित गर्नेछ भन्ने विश्वास छ।”
अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सम्मेलन आयोजनाका लागि मूल समितिसँगै विभिन्न नौवटा उपसमिति गठन भई तयारीको काम भइरहेको जानकारी दिए। उनले सम्मेलन आयोजनाका लागि आवश्यक बजेट विश्वका विभिन्न मुलुकका स्रष्टाहरूका साथै कोलोराडोस्थित नेपाली समुदायका विभिन्न संघसंस्था र सहयोगीहरूबाट जुट्ने विश्वास व्यक्त गरे।
“हामीले सहयोगका लागि आग्रह गरेका विभिन्न संघसंस्था र व्यक्तिहरूबाट सकारात्मक सहयोग र प्रतिक्रिया पाएका छौं,” अधिकारीले भने, “नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा विश्वव्यापीकरणका लागि अनेसासले आयोजना गरिरहेको सम्मेलन सबैको सहयोगले भव्य रूपमा सफल हुने विश्वास छ।”
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रकाशन समितिका संयोजक समेत रहेका अनेसास कोलोराडो च्याप्टरका महासचिव पुष्पराज पौडेलले सम्मेलनको अवसरमा अनेसासका गतिविधिका साथै विभिन्न स्रष्टाको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरिएको स्मारिका प्रकाशन गर्न लागिएको जानकारी दिए।
नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’ मा अनेसास कोलोराडो च्याप्टरद्वारा आयोजित पत्रकार सम्मेलनलाई क्यालिफोर्नियामा रहेका केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले जुममार्फत सम्बोधन गरेका थिए।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा तीन दिन साहित्यका विविध विषयमाथि विभिन्न सत्रहरूमा छलफल र बहस हुनेछ। आयोजकले अन्तिम तथा चौथो दिन सम्मेलनका सहभागीहरूलाई कोलोराडोका विभिन्न पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको भ्रमण गराउने कार्यक्रम तय गरेको छ।


