बेलायतमा नेपाली नयाँ वर्ष भव्य रूपमा सम्पन्न

१८ अप्रिल, लन्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सुदूरपश्चिम नेपाली समाज यूके द्वारा नेपाली नयाँ वर्ष २०८३ सालको शुभकामना उत्सव संयुक्त आयोजना गरी उत्साहपूर्ण मनाइयो।

साउथह्यारो स्थित गोल्डेन सिप रेस्टुराँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि महामहिम कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले विदेशमा नेपाली पहिचान जीवन्त राख्न नेपाली भाषा, साहित्य, संस्कृति जस्ता मूलभूत कुराहरूलाई संरक्षण र संवर्धन गर्न नेपाली साहित्य विकास परिषद् यूकेले निरन्तर गरेका गतिविधिहरू अत्यन्त सराहनीय छन् भन्नुहुँदै सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेका नवनिर्वाचित पदाधिकारीहरूको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।

समारोहमा ब्रिगेडियर जनरल अनुप शाहले नयाँ वर्ष २०८३ सालको शुभकामना ज्ञापन गर्दै सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेको नयाँ कार्यसमितिलाई बधाई मन्तव्य दिनुहुँदै बेलायतमा नेपाली भाषा, साहित्य, कला जस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न नेपाली साहित्य विकास परिषद् यूके र सुदूरपश्चिम नेपाली समाज यूकेले गरेका प्रयासहरू सराहनीय छन् भन्नुभयो।

सभापतिको आसनबाट बोल्नुहुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेसँग मिलेर हाम्रो नेपाली पहिचान बोकेको नयाँ वर्ष कार्यक्रम मनाएर हामीले हाम्रो गाउँ, घर, चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका छौं भन्नुभयो।

त्यसैगरी सुदूरपश्चिम नेपाली समाज यूकेका पूर्वअध्यक्ष खेमराज जोशीले बेलायतको भूमिमा नेपाली भाषा र साहित्यलाई जोगाउँदै नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद् र सुदूरपश्चिम नेपाली समाज यूकेले संयुक्त कार्यक्रम गरेर नेपाली कला, भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको कुरा व्यक्त गर्नुभयो।

सुदूरपश्चिम नेपाली समाज यूकेका नवनिर्वाचित अध्यक्ष पदम रावलले विदेशमा सुदूरपश्चिम नेपाली समाज यूकेले आफ्नो स्थापनाकालदेखि नै नेपाली गीतसङ्गीत, संस्कृति र भाइचारा समृद्ध गर्नुका साथै परिआउँदा आर्थिक सहयोग गर्ने गरेको चर्चा गर्नुभयो।

यसअघि स्वागत मन्तव्य राख्नुहुँदै संस्थाका महासचिव योगेस महतले बेलायतमा नेपाली भाषा, साहित्य, संस्कृतिको संरक्षण र संवर्धन गर्न नेपाली साहित्य विकास परिषद् यूकेले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो।

स्वागत, सम्मान, कविता वाचन र देउडा गीतसङ्गीतको समेत संयोजन रहेको उक्त नयाँ वर्ष उत्सव समारोहमा ध्रुव केसी, घनबहादुर थापा मगर, डा. सुधा श्रेष्ठ, मनोज अन्जान, वासु सापकोटा, वसन्त रायक्षेत्री, हरिसिंह थापा, सुषमा भट्टराई र कोमल मल्ल लगायतबाट कविता वाचन गरिएको थियो भने कल्पना जोशीले देउडा, रवीन्द्र पाण्डेले नृत्य र योगेस महतले गीत गाएका थिए।
यसअघि समारोहमा सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा आजीवन सदस्यहरूलाई महामहिम कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीबाट पदाधिकारी प्रमाणपत्र र आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।
यसअघि भानबहादुर चन्दले संस्थाको आर्थिक वासलात, महासचिव योगेस महतले प्रगति विवरण र श्याम चन्दले नयाँ कार्यसमितिको घोषणा गरेका थिए।

नवनिर्वाचित कार्यसमितिमा पदम रावल अध्यक्ष, श्रीमती सुनीता ढुंगाना र श्रीमती शैली चन्द राणा उपाध्यक्ष, महासचिव श्रीमती सुषमा पौडेल, सचिव रवीन्द्र पाण्डे, कोषाध्यक्ष सुजन्तजङ्ग शाह रहेका छन् भने कार्यकारीणी सदस्यहरूमा विष्णु भट्ट, दीपा रावल कुवँर, आयुष चन्द, बबि बोहरा, कल्पना जोशी रहेका छन्। यसैगरी सल्लाहकारहरूमा डा. श्याम चन्द, कोमलप्रसाद श्रेष्ठ मल्ल, डा. जीव आचार्य, डा. खेम जोशी, सुरेन्द्र ढुंगाना, भानबहादुर चन्द, बासु जोशी, खेमराज जोशी, योगेस महत र विष्णु त्रिपाठी रहेका छन्।
कार्यक्रमको अन्तमा रमाइलो जलपान र नयाँ वर्षको हार्दिकता आदानप्रदान गरिएको थियो।

सभापतिको आसनबाट जलपानतर्फ सहयोग र सहभागिताका लागि आभार प्रकट गर्नुहुँदै अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले उपस्थित सहभागी सबै अतिथिहरूलाई धन्यवाद अर्पण गर्नुभयो।

कार्यक्रममा डा. जनककुमारी धिताल, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, डा. सुधा श्रेष्ठ, मदन थापा, वसन्त रायक्षेत्री, मनोज अन्जान, कोहिनूर मल्ल, राजेन्द्र श्रेष्ठ, सीतु खरेल, प्रार्थना शाह, आरती श्रेष्ठ, आरएस श्रेष्ठ, श्याम चन्द, सुरेन्द्र ढुंगाना आदिको उत्साहवर्द्धक सहभागिता रहेको थियो।





Comments

comments

138202