काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
उनले दुर्घटनामा घाइते भएकाको प्रभावकारी उपचार, आवश्यक स्वास्थ्य सेवा तथा उचित राहतको तत्काल व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरे।
अध्यक्ष सिटौलाले उक्त दुर्घटनाले विद्युतीय सवारीसाधनको सुरक्षा, प्राविधिक अवस्था र सञ्चालनसम्बन्धी मापदण्डबारे गम्भीर प्रश्न उठाएको भन्दै विद्युतीय सवारीसाधनको उत्पादन, आयात, जडान, ब्याट्री तथा अन्य प्राविधिक पक्षको नियमित परीक्षण र सञ्चालनका लागि स्पष्ट एवं कडा सुरक्षा मापदण्ड निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।
सवारी दुर्घटना न्यूनीकरण केवल नियतिको विषय नभई राज्यको जिम्मेवारी, प्राविधिक सुरक्षाको सुनिश्चितता र सरोकारवाला सबैको साझा उत्तरदायित्व भएको उनको भनाइ छ। अध्यक्ष सिटौलाले मानवीय जीवनको सुरक्षालाई सर्वोपरि राख्दै आगामी दिनमा यस्ता दुर्घटनाको पुनरावृत्ति रोक्न सरकार गम्भीर, जिम्मेवार र संवेदनशील हुनुपर्ने बताए।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी आज बिहान सडकबाट खस्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार, दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। रासस

