मकवानपुरको भीमफेदीमा इभी दुर्घटना : १० जनाको मृत्यु, चालकसहित २ मृतकको पहिचान खुल्यो

–

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान यात्रुवाहक विद्युतीय गाडी (इभी हायस) दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये चालकसहित २ जनाको पहिचान खुलेको छ।

काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी बिहान करिब पौने ६ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ७०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये गाडीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ का रविशंकर कुमार मण्डल र सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका सुवेक यादवको सनाखत भएको छ।

दुर्घटनास्थलमै ३ महिला, २ बालिका र ५ पुरुष गरी १० जनाको मृत्यु भएकोमा अन्य ८ जना मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार दुर्घटनामा मृत्यु हुने यात्रुहरू सबै सुन्दरपुर टोलका बासिन्दा हुन्।

ललितपुरको टीकाथलीबाट छठ पर्व मनाउन गाउँ फर्कंदै गरेका फलफूल व्यवसायी परिवारका सदस्यहरू दुईवटा रिजर्भ गाडीमा आउने क्रममा अगाडिको गाडी दुर्घटनामा परेको थियो।

दुर्घटनामा घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। उपचाररत घाइतेमध्ये चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादवको पहिचान खुलेको छ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्धार कार्य गरेको थियो भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





Comments

comments

142263