भैरहवा। सार्वजनिक स्थानमा देउसी–भैलो कार्यक्रमको नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेहरूमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।
गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मौलिक संस्कृति र सामाजिक नैतिकताविपरीत अश्लील नृत्य प्रदर्शन गरेकाले कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै, सांस्कृतिक मर्यादा विपरीतका क्रियाकलाप नगर्न प्रहरीले सचेत गराएको छ।

