न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ नोभेम्बर। हङकङको पहिलो ठूलो वयस्क मनोरञ्जन प्रदर्शनी ‘मेगा फ्यान्स एक्सपो २०२६’ (एमएफई) अन्तिम समयमा रद्द भएपछि सहभागी हुन आएका करिब ३० जना जापानी पोर्न स्टारहरू स्वदेश फर्किएका छन्।
नोभेम्बर १३ देखि १५ सम्म तीन दिनका लागि रिगल एयरपोर्ट होटलमा आयोजना हुने तय भएको उक्त एक्सपो सुरु हुनुभन्दा ४८ घण्टाअगावै रद्द गरिएको हो। कलाकारहरूको प्रवेश विवाद र अध्यागमन विभागको फरक-फरक बयानका कारण यो घटना झन् रहस्यमय बनेको छ।
कार्यक्रमको पूर्वसन्ध्यामा एक जापानी अभिनेत्रीले सामाजिक सञ्जालमा आफू र आफ्नो टोलीलाई हङकङ विमानस्थलमा अवतरण गरेपछि प्रवेशमा रोक लगाइएको लेखेकी थिइन्।
चर्चित पोर्न स्टार हिबिकी ओत्सुकीले पहिले नै आवश्यक भिसा प्राप्त गरिसकेको भए पनि विमानस्थलको अध्यागमन जाँचपछि आफू, व्यवस्थापक, कर्मचारी र अन्य कलाकारहरूलाई प्रवेश अस्वीकार गरिएको र जापान फर्कनुपरेको उल्लेख गरेकी छिन्। कसैले केही गल्ती नगरेको र त्यहाँको अवस्था निकै अस्तव्यस्त रहेको बताउँदै उनले यो घटना झन् गहिरो रहस्य बन्दै गएको टिप्पणी गरेकी छिन्।
जापान फर्किएपछि मात्र विस्तृत विवरण दिने उनले बताएकी छिन्। त्यस्तै, कार्यक्रमकी मुख्य प्रस्तोता युई हातानोले पनि जापान फर्कनुपरेको पुष्टि गर्दै प्रशंसकहरूसँग माफी मागेकी छिन्।
अर्कोतर्फ, हङकङको अध्यागमन विभागले भने प्रवेश निषेध गरिएको भन्ने हल्लाको खण्डन गरेको छ। विभागले एक्सपोसँग सम्बन्धित व्यक्तिहरूलाई प्रवेशमा रोक नलगाइएको स्पष्ट पार्दै कार्यक्रम रद्द भएको जानकारी पाएपछि उनीहरू आफ्नै स्वेच्छाले हङकङ छोडेर गएको जनाएको छ।
आयोजक संस्था एईई ग्रुप लिमिटेड (AEE Group Limited) ले औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै मुख्य प्रदर्शनी र बिहीबारको प्रिभ्यू दुवै कार्यक्रम रद्द भएको घोषणा गरेको छ। तर विज्ञप्तिमा रद्द हुनुको आधिकारिक कारण खुलाइएको छैन।
प्रदर्शनीमा साईका कावाकिता, माना साकुरा र वरिष्ठ कलाकार ताका कातो लगायत करिब ३० जना लोकप्रिय कलाकारहरू सहभागी हुने कार्यक्रम थियो। कार्यक्रममा चारवटा विशेष थिममा आधारित कोठाहरूमा फ्यान मिटिङ, दर्शकहरूसँग नजिकबाट भेटघाट, मञ्च प्रस्तुति तथा कलाकारहरूसँग सम्बन्धित विशेष सामग्रीहरूको बिक्री गरिने योजना थियो।
कार्यक्रम रद्द भएसँगै ४८० देखि २ हजार ५८० हङकङ डलरसम्मका टिकट काटेका हजारौँ दर्शक प्रभावित भएका छन्। आधिकारिक टिकट प्लेटफर्म केकेडे (KKday) ले टिकट खरिद गरिसकेका दर्शकहरूलाई छुट्टै सूचना पठाउँदै कार्यक्रम रद्द भएको र सबै अर्डरको पूरा रकम फिर्ता (रिफन्ड) गरिने पुष्टि गरेको छ।
बुधबार साँझ ५:३० बजेसम्म टिकट बिक्री खुला रहे पनि त्यसको एक घण्टापछि नै पेजमा टिकट सकिएको (सोल्ड आउट) देखाइएको थियो।
.

