न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ अप्रिल। म्यानचेस्टरबाट हङकङका लागि उडेको क्याथे प्यासिफिकको विमानमा सवार ५१ वर्षीय एक व्यक्तिको शुक्रबार बिहान बेहोस भएर मृत्यु भएको छ।
उडान नम्बर CX216 मा यात्रा गरिरहेका ती यात्रु अचानक बेहोस भएपछि विमानका चालक दलका सदस्यहरूले बिहान करिब ६:१६ बजे एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएका थिए। यात्रुको अवस्था गम्भीर रहेको रिपोर्ट गरिएको थियो।
स्थानीय मिडियाहरुका अनुसार विमान हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि नै आपतकालीन सेवा र एम्बुलेन्सहरूलाई तयारी अवस्थामा राखिएको थियो।
बिहान करिब ६:५३ बजे विमान अवतरण भएलगत्तै प्यारामेडिक टोलीले विमानभित्रै पुगेर ती व्यक्तिलाई बचाउने प्रयास गरेका थिए, तर उनलाई घटनास्थलमै मृत घोषित गरियो।
प्रहरीका अनुसार मृतक हङकङको परिचयपत्र वाहक हुन्। उनको मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।


