न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २९ अप्रिल। हङकङ सरकारले बुधबारदेखि ई-सिगरेट तथा तताइएको तम्बाकूजन्य पदार्थहरूको प्रयोग र ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको छ।
नयाँ कानून उल्लङ्घन गर्नेलाई तत्काल जरिवानादेखि ६ महिनासम्म कैदको सजाय हुने व्यवस्था गरिएको छ।
तम्बाकू तथा मादक पदार्थ नियन्त्रण कार्यालयकी प्रमुख म्यानी ल्यामले भनिन्, ‘नयाँ ऐन कार्यान्वयनमा आएपछि निरीक्षकहरूले गस्तीको क्रममा कसैले वैकल्पिक धुम्रपान सामग्री ओसारपसार वा प्रयोग गरेको पाइए तुरुन्त प्रहरी कारबाही अघि बढाइनेछ।’
प्रतिबन्धित पदार्थको थोरै परिमाण राख्नेलाई तत्काल ३ हजार हङकङ डलर जरिवाना गरिनेछ। तर, ५ वटाभन्दा धेरै कारतुस, ५ मिलिलिटरभन्दा बढी ई-तरल पदार्थ, १०० भन्दा धेरै तताइएको तम्बाकूको सुली वा १०० भन्दा धेरै हर्बल सिगरेट बरामद भएमा भने अदालतमा मुद्दा चलाई अधिकतम ५० हजार हङकङ डलर जरिवाना वा ६ महिना कैद हुन सक्ने अधिकारीहरूले जनाएका छन्।
आउँदो ‘गोल्डेन वीक’ (मजदुर दिवस साता) का कारण हङकङ आउने पर्यटकको चापलाई मध्यनजर गर्दै प्रशासनले विशेष सचेतना अभियान सञ्चालन गरिरहेको छ। पर्यटकीय स्थलहरूमा होर्डिङ्बोर्ड र सीमा नाकाहरूमा भन्सार अधिकारीको सहयोगमा जानकारी सामग्री राखिएको छ।


