तेहरान । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ।
यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्यपि उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन।
सन् २०२५ जुनमा इजरायलसँगको इरानको युद्धलाई उल्लेख गर्दै सुरक्षा र सैन्य स्थानहरूको फोटो खिचि मोसाद अधिकारीकहाँ पठाएको अपराधमा करिम्पोरलाई दोषी ठहर गरिएको जनाइएको छ।
गत फेब्रुअरी –२८ मा, इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्धलाई अन्त्य गर्न लागि अप्रिल –८ देखि युद्धविराम लागु भएको छ।
पछिल्लो समयमा इरानले जनवरीमा सामूहिक विरोध प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई मृत्युदण्ड दिएको जनाइएको छ, जसलाई इजरायल, अमेरिका र प्रतिबन्धित पिपुल्स मुजाहिदीन सङ्गठनसहितका विपक्षी समूहहरूले उक्साएको बताएको छ।
यसअघि इरानले युद्धपूर्वको विरोध प्रदर्शनको क्रममा मध्य प्रान्त इस्फहानमा प्रहरी अधिकारीहरूलाई आक्रमण गरेको आरोपमा ससान आजादवर भनेर चिनिएका व्यक्तिलाई फाँसी दिएको बताएको छ। रासस


